पोखराको पन्थीगल्लीमा इन्टरनेशनल कलेज अफ अप्लाइड साइन्स सञ्चालनमा

पोखरा, १० माघ
पोखराको पन्थीगल्लीमा अन्तर्राष्ट्रियस्तरको व्यवसायिक एवं रोजगारमूलक तालिम दिने उद्देश्यले इन्टरनेशनल कलेज अफ अप्लाइड साइन्स (आईसीएएस) सञ्चालनमा आउने भएको छ ।
कलेजले शुक्रबार आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै कलेजका प्रिन्सिपल प्रमेश गुरुङले कलेजको छिटै औपचारिक शुभारम्भ गरिन लागेको जानकारी दिनुभयो । सरकारले हरेक स्थानीय तहमा प्राविधिक कलेज खोल्न प्रोत्साहन गरेको परिप्रेक्ष्यमा कलेज सुरु गर्न लागिएको जनाउँदै प्रिन्सिपल गुरुङले होटल व्यवसायसम्बन्धी दक्ष कामदार उत्पादन गर्ने आफूहरूको उद्देश्य भएको बताउनुभयो ।
कलेजमा अध्ययनरत विद्यार्थीहरूलाई तालिमपश्चात स्वदेशमै व्यवसाय गर्न प्रोत्साहन गर्नुका साथै, भारत, मध्यपूर्वका देशहरू, फिलिपिन्सलगायतका मुलुकमा रोजगारीमा पठाउन सम्बन्धित स्रोतको खोजी गर्न लागेको समेत उहाँले बताउनुभयो । गुणात्मक सीपमूलक शिक्षा प्रदान गरी स्वदेश तथा विदेशमा सजिलै रोजगारी प्राप्ति र स्वरोजगार बन्न कलेजले उपयुक्त वातावरण निर्माण गर्ने बताउँदै गुरुङले कलेजमा अध्ययनरत विद्यार्थीको क्षमताका आधारमा अष्ट्रेलिया र न्यूजिल्याण्डमा इन्टर्नशीपका लागि साझेदारहरूसँग सम्झौताको अन्तिम तयारी भइरहेको समेत जानकारी दिनुभयो ।
पोखराका ९ जना सचेत युवाहरूको झण्डै १ करोडको लगानीमा कलेजको स्थापना गरिएको प्रबन्ध निर्देशक सम्मरबहादुर थापामगरले जानकारी दिनुभयो । व्यवहारिक शिक्षालाई प्राथमिकता दिइ अन्तर्राष्ट्रियस्तरको तालिम प्रदान गर्नु कलेजको प्राथमिकता भएको प्रबन्ध निर्देशक थापामगरको भनाइ छ । कलेजमा अध्यापनका लागि स्वीकृत कोर्षहरू बार टेण्डर, हाउस किपिङ, कुकिङ, वेटर, वेट्रेस रहेका छन् भने कमर्सियल कुकिङ, बेकिङ, प्रोफेशनल कुकिङ, वरिष्ठा, बेकरी र रुम एटेन्डेन्टको सम्बन्धन आउने क्रममा रहेको कलेजका अप्रेटिङ म्यानेजर सुनिल गुरुङले जानकारी दिनुभयो । यी विषय अध्यापनका लागि कलेजले प्राविधिक तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी), भक्तपुरबाट सम्बन्धन प्राप्त गरेको छ ।
कलेजमा छोटो र लामो अवधिका लेभल १ र लेभल २ का तालिम सञ्चालन हुने र कोर्ष अनुसार न्यूनतम १२ हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्म शुल्क लाग्ने प्रबन्ध निर्देशक थापामगरले जानकारी दिनुभयो । कार्यक्रमको सञ्चालन शारदा गुरुङले गर्नुभएको थियो ।

Advertisment