गलकोट अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशालाको तीव्र तयारी

पोखरा, ६ माघ
गलकोट कला प्रतिष्ठान, बागलुङको आयोजनामा आगामी फागुन ५ गतेदेखि २१ गतेसम्म गलकोट नगरपालिका–५, टेउवामा “गलकोट अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला–२०७६” हुने भएको छ । प्रतिष्ठानले कार्यशालाको तयारी तीव्र पारेको छ ।
मूर्तिकला कार्यशालाको तयारीका क्रममा प्रतिष्ठानले काठमाडौं, पोखरा र बागलुङमा बस्ने गलकोटे अगुवाहरूको भेला गरी छलफल समेत सम्पन्न गरेको छ । सोही क्रममा सोमबार पोखरामा गलकोट समाज पोखराको आयोजनामा कार्यशालाबारे छलफल सम्पन्न भएको छ ।


छलफलमा बोल्दै संविधानसभाका सदस्य समेत रहनुभएका प्रतिष्ठानका अध्यक्ष क्या. पूर्णबहादुर रानाले गलकोटमा नयाँ पर्यटकीय गन्तव्य विकासका लागि मूर्तिकला कार्यशाला आयोजना गर्न लागिएको जानकारी दिनुभयो । कार्यशालाले गलकोटलाई देश तथा विदेशमा चिनाउन महत्वपूर्ण भूमिका खेल्ने भन्दै अध्यक्ष रानाले गलकोटको टेउवामा मूर्तिकला बगैंचा तथा खुला संग्रहालय निर्माण गर्ने योजना रहेको सुनाउनुभयो ।
सो अवसरमा गलकोट समाज पोखराका अध्यक्ष मीनबहादुर खत्रीले यसअघि भएको दोस्रो गलकोट घुम्टे महोत्सवलाई सफल बनाउन समेत आफूहरूले सहयोग गरेको बताउँदै गलकोटको गौरवका रुपमा अघि सारिएको अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशालालाई सफल बनाउन पोखराबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । समाजका वरिष्ठ सल्लाहकार एवं गलकोट बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख मोहन चन्द “राजन”ले आफ्नो जन्मथलो नभएपनि कर्मथलो गलकोट भएकाले गलकोटको असाध्यै माया लाग्ने बताउनुभयो । गलकोटको विकासका लागि चालिएका कदमप्रति सधैं साथ रहने उहाँको भनाइ थियो ।
गलकोट अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला–२०२० मूल समारोह समितिका सदस्य योगेश भण्डारीले मूर्तिकला कार्यशालाले पर्यटकीय सम्भावनाले युक्त गलकोटलाई देश तथा विदेशमा थप परिचित बनाउने अपेक्षा गरिएको बताउनुभयो । कार्यशालालाई सफल बनाउन सरकारी स्तरमा पनि आर्थिक सहयोगको पहल गरिएको भन्दै भण्डारीले निजी क्षेत्रबाट पनि आर्थिक सहयोग उत्तिकै जरुरी रहेको बताउनुभयो । कार्यशालामा नेपालसहित ११ देशका मूर्तिकारहरूले ढुंगाको मूर्ति कुँद्नेछन् । टेउवालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चिनाउन मूर्तिकला कार्यशाला सहयोगी बन्ने विश्वास आयोजकले लिएको छ ।

Advertisment