सार्वभौमसत्ता र भौगोलिक अखण्डता रक्षाका लागि कटिबद्ध ः सशस्त्र प्रहरी नायब महानिरीक्षक श्रेष्ठ

पोखरा, ९ माघ
सशस्त्र प्रहरी बल, नं. ४ मुक्तिनाथ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) कविन्द्रमान श्रेष्ठले देशको सार्वभौमसत्ता तथा भौगोलिक अखण्डता रक्षाका लागि सशस्त्र प्रहरी कटिबद्ध रहेको बताउनुभएको छ ।
१९ औं सशस्त्र प्रहरी दिवसका अवसरमा मुक्तिनाथ बाहिनी मुख्यालयमा आयोजित कार्यक्रममा बोल्दै डीआईजी श्रेष्ठले शान्ति सुरक्षा र स्थायित्वका लागि सशस्त्र प्रहरीले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो । सशस्त्र प्रहरीका अवकाशप्राप्त अधिकृतहरूको अनुभवलाई लिएर सशस्त्र प्रहरीको संगठन विकास र विस्तारमा अघि बढ्ने प्रण गर्दै उहाँले नेपाल सरकारले लिएको समृद्धिको अभियानलाई सफल बनाउन व्यवसायिक, कर्मठ र पारदर्शी भइ सशस्त्र प्रहरीले आफ्नो कर्तव्य निर्वाह गर्ने उल्लेख गर्नुभयो ।
मानवअधिकारको सम्मान गर्दै जनचाहना अनुरुप सशस्त्र प्रहरीले राष्ट्रिय स्वाभिमान र गरिमालाई ऊँचो बनाउन सशस्त्र प्रहरी स्थापनाकालदेखि नै निरन्तर लागिरहेको डीआईजी श्रेष्ठले बताउनुभयो । मुलुकको सुरक्षालाई चुस्त बनाइराख्ने कार्य चुनौतीपूर्ण भएको भन्दै समाजमा शान्ति र अमनचयन कायम राख्न सबै सरोकारवालासँग समन्वय गरी अघि बढ्ने भनाइ व्यक्त गर्नुभयो ।
कार्यक्रममा पूर्व सशस्त्र प्रहरी नायब महानिरीक्षक महेन्द्र भट्टचनले कर्तव्य पालनाका शिलशिलामा अमरत्व प्राप्त गर्ने सशस्त्र प्रहरीको योगदानलाई स्मरण गर्दै अवकाशप्राप्त सशस्त्र प्रहरीका अधिकृतहरूको अनुभवलाई साथमा लिएर अघि बढ्न सके सशस्त्र प्रहरीको संगठन विकासमा अझै टेवा पुग्ने धारणा व्यक्त गर्नुभयो । सशस्त्र प्रहरी बल नं. २४ कालिका गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) प्रेमध्वज शाहले धन्यवाद व्यक्त गर्दै सशस्त्र प्रहरीले देशको अखण्डता र शान्ति सुरक्षाका लागि अहम् भूमिका निर्वाह गर्दै आएको बताउनुभयो ।


सो अवसरमा अवकाशप्राप्त वैद्यनाथ बाहिनीका सशस्त्र प्रहरी उपरीक्षक खिमनारायण अधिकारी, चण्डिका गणका सशस्त्र प्रहरी नायब उपरीक्षक शालिकराम अधिकारी, चण्डिका गणका सशस्त्र प्रहरी नायब उपरीक्षक रामबहादुर सुनार, मुक्तिनाथ बाहिनीका सशस्त्र प्रहरी नायब उपरीक्षक श्यामबहादुर केसी र कालिका गणका सशस्त्र प्रहरी नायब उपरीक्षक लेखबहादुर गुरुङलाई प्रशंसापत्र र दोसल्लासहित डीआईजी श्रेष्ठले बिदाइ गर्नुभएको थियो । त्यसैगरी, उत्कृष्ट सशस्त्र प्रहरी कर्मचारीका रुपमा सशस्त्र प्रहरी सहायक निरीक्षक टेकप्रसाद सुवेदी, सशस्त्र प्रहरी सहायक हवल्दार बृहस्पति पुलामी, सशस्त्र प्रहरी सहायक हवल्दार अम्मरसिंह खाम्चामगर, सशस्त्र प्रहरी सहायक हवल्दार दीपेन्द्र खड्का, सशस्त्र प्रहरी जवान राहुल पौडेल, झकप्रसाद गुरुङ र मित्रलाल पोखरेललाई पुरस्कृत गरिएको थियो ।
त्यस्तै, रस्साकस्सी खेलमा प्रथम हुने सशस्त्र प्रहरी हवल्दार ईश्वर अखेली, टीटी खेलतर्फ प्रथम हुने सशस्त्र प्रहरी सहायक हवल्दार अमृत पुलामी र द्वितीय हुने सशस्त्र प्रहरी जवान टिकाराम सिग्देल, भलिबल खेलमा प्रथम हुन सफल टिम सशस्त्र प्रहरी बल, नेपाल नं. २४ कालिका गण सि.सं. २३२ (र)का टिम कप्तान सशस्त्र प्रहरी जवान अर्जुन विकलाई पुरस्कृत गरिएको थियो । यसैगरी, सशस्त्र प्रहरी नायब निरीक्षक स्व. टिकाराम रानाभाटकी छोरी निर्मला रानाभाट र सशस्त्र प्रहरी जवान स्व. महादेवसिंह गुरुङका छोरा निरज गुरुङलाई छात्रवृत्ति रकम प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन सशस्त्र प्रहरी निरीक्षक लक्ष्मण बरालले गर्नुभएको थियो । कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी, नेपाली सेनाको पश्चिम पृतनाका पृतनापति उपरथी गोकुल भण्डारी, नेपाल प्रहरी गण्डकी प्रदेशका प्रमुख, प्रहरी नायब महानिरीक्षक विनोद शर्मा घिमिरे, राष्ट्रिय अनुसन्धान विभागका कुलदेव थापा, जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख, प्रहरी उपरीक्षक दानबहादुर कार्कीलगायतको पनि उपस्थिति रहेको थियो ।

Advertisment