विश्व कीर्तिमानी खगेन्द्रको पार्थिव शरीरमा मन्त्री थापाले ओढाए राष्ट्रिय झण्डा

पोखरा, ४ माघ
होचा व्यक्तिका रुपमा विश्व कीर्तिमान बनाएका स्व. खगेन्द्र थापामगरको पार्थिव शरीरमा गण्डकी प्रदेश सरकारले राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट गरेको छ ।
निमोनियाका कारण पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा शुक्रबार निधन भएका स्व. खगेन्द्रको पार्थिव शरीरमा गण्डकी प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले नेपालको राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट गर्नुभएको हो । मन्त्री थापाले व्यस्तताका कारण मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ उपस्थित हुन सकेको भन्दै उहाँका तर्फबाट स्व. खगेन्द्रप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो ।
शोक मन्तव्य व्यक्त गर्दै मन्त्री थापाले स्व. खगेन्द्रको कर्मलाई जीवन्त राख्न प्रदेश सरकारले आवश्यक सहयोगका लागि पहल गर्ने आश्वासन दिनुभयो । मन्त्री थापाले भन्नुभयो, “खगेन्द्रले हामीलाई महत्वपूर्ण सन्देश दिएर जानुभएको छ, उहाँले नेपाललाई विश्वसामु चिनाउनुभएको छ ।” उहाँले खगेन्द्रको योगदान नेपाल, नेपाली जनता, गण्डकी प्रदेश र समग्र मगर समुदायका लागि पनि स्मरणयोग्य रहेको बताउनुभयो ।
त्यस्तै, खगेन्द्रको पार्थिव शरीरमा गण्डकी प्रदेशसभाका सांसद् चन्द्रबहादुर बुढा “सागर”ले पनि अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । त्यसैगरी, खगेन्द्र थापामगर प्रतिष्ठानका अध्यक्ष मीनबहादुर राना, कोषाध्यक्ष दामोदर बाँस्तोला, खगेन्द्रका आफन्त, शुभेच्छुकलगायत विभिन्न संघसंस्थाका प्रतिनिधि एवं सर्वसाधारणले स्व. खगेन्द्रप्रति फूलमाला चढाएर अन्तिम श्रद्धाञ्जली दिएका थिए ।


विश्व कीर्तिमान राखेर नेपालको नाम विश्वसामु चिनाएको व्यक्तिको अन्तिम संस्कारमा प्रदेश सरकारका एक मन्त्री बाहेक अन्य निकाय र प्रदेश सरकारले खासै वास्ता नगरेको भन्दै शवयात्राका सहभागीहरूले गुनासो गरेका थिए । मणिपाल शिक्षण अस्पतालबाट सुरु भएको शवयात्रा पोखराको नगर परिक्रमा गरी रामघाटमा अन्तिम संस्कार गरिएको थियो । स्व. खगेन्द्रलाई उनका जेठा बाबा हिराबहादुर थापाले दागबत्ती दिनुभएको थियो ।
बागलुङको बरेङ गाउँपालिका–१, धुल्लुबाँस्कोट, उर्लेनीमा बाबा रुपबहादुर थापामगर र आमा धनमाया थापामगरको कोखमा २०४९ साल असोज १८ गते जन्मिएका खगेन्द्र जन्मिँदा जम्मा ६०० ग्रामका थिए ।

 

Advertisment