दोस्रो राष्ट्रिय मार्शल आर्टस् हाप्किडो रेफ्री सेमिनार सुरु

पोखरा, ४ माघ
नेपाल मार्शल आर्टस् हाप्किडो संघ, कास्कीको आयोजनामा दोस्रो राष्ट्रिय मार्शल आर्टस् हाप्किडो रेफ्री सेमिनार सुरु भएको छ ।
सेमिनारको शनिबार पोखरामा उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य राजेशकुमार गुरुङले स्वास्थ्य र देशका लागि खेलकुद महत्वपूर्ण भएको बताउनुभयो । हाप्किडो खेलको विकासका लागि राखेपले आवश्यक सहयोग गर्न तयार रहेको भन्दै उहाँले खेल पर्यटनको विकासका लागि यस्ता कार्यक्रमले टेवा पुग्ने बताउनुभयो । खेलाडीले देशका लागि खेले पनि राज्यबाट आवश्यक सुविधा पाउन नसकेको बताउँदै गुरुङले राज्यले खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।


पोखरा महानगरपालिका वडा नं. १४ का वडाध्यक्ष प्रेमबहादुर कार्कीले वडाले खेलकुदका लागि समेत बजेट विनियोजन गरेको जानकारी गराउँदै यही माघ ११ र १२ गते पोखरामा हुने अन्तर्राष्ट्रिय हाप्किडो सेमिनारका लागि वडा कार्यालयबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । त्यस्तै, पोखरा महानगरपालिकाकी कार्यपालिका सदस्य यशोदा भट्टराईले हाप्किडो खेलको विकासका लागि महानगर र वडाका तर्फबाट आवश्यक सहयोगका लागि पहल गर्ने आश्वासन दिनुभयो ।
नेपाल मार्शल आर्टस् हाप्किडो संघका केन्द्रीय अध्यक्ष कालीबहादुर घर्तीमगरले २०७३ सालदेखि नेपालमा हाप्किडो खेलको विकासका लागि संगठनको स्थापना गरेर अघि बढेको उल्लेख गर्दै आत्म सुरक्षाका लागि हाप्किडो महत्वपूर्ण खेल भएको बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा), पोखरा–१४ का अध्यक्ष बलबहादुर सेञ्चुरीले खेलकुदको विकासका लागि नेकपा नेतृत्वको सरकारले विशेष प्राथमिकता दिएर अघि बढेको दाबी गर्नुभयो ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकी प्रदेशका अध्यक्ष एमबी आस्था मगरले यही माघ ११ र १२ गते पोखरामा हुने अन्तर्राष्ट्रिय हाप्किडो सेमिनारले पोखराको पर्यटन प्रर्वद्धनमा महत्वपूर्ण योगदान पुग्ने दाबी गर्दै खेल पर्यटनको विकासमा अन्तर्राष्ट्रियस्तरका कार्यक्रम सहयोगी बन्ने उल्लेख गर्नुभयो । कास्की जिल्ला भारोत्तोलन संघका सह–सचिव डीबी राईले नेपालको खेलकुद क्षेत्रले अझै पनि राज्यबाट प्राथमिकता पाउन नसकेको बताउनुभयो । कार्यक्रममा हाप्किडो खेलाडी सन्दीप विकले पनि बोल्नुभएको थियो ।
नेपाल मार्शल आर्टस् हाप्किडो संघ, कास्कीका अध्यक्ष मदनकुमार जिसीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा सचिव रविन गुरुङ र कोषाध्यक्ष धनराज गुरुङले पनि बोल्नुभएको थियो । सो अवसरमा हाप्किडोका रेफ्रीद्वय सुस्मिता गुरुङ र भुवन बुढामगरलाई सम्मान गरिएको थियो ।

Advertisment