ब्यूँझिएका सुषुप्त सपना

1126

                                                                                                                     –पुष्पा पुनमगर
पर्वत जिल्लाको जलजला गाउँपालिका वडा नं. ६, शालिजाको मनोरम प्रकृति सुन्दरताले भरिएको ठाउँमा मेरा बुबा आमाको दोस्रो सन्तानका रुपमा जन्मिएकी हूँ, म । मेरो घरको आँगन, पाखा पखेरासँगै मितेरी गाँस्दै हुर्किएँ, बढेँ । मेरा छिमेकीका आवाजहरू चिन्ने प्रयत्न गर्दै गर्दा अचानक वसन्त ऋतुका कलिला मुनाहरूलाई जसरी हावाको वेगले चुँडाएर अन्यत्र पछारिदिन्छ । त्यसै नियतिले नयाँ परिवेश अनि नयाँ वातावरणमा धकेलिदियो, म अनि मेरी दिदी कुमारी थापामगरलाई ।
नयाँ परिवेशमा पुगेता पनि ठोट्नेरीका ती छङछङ गर्दै खस्ने निर्मल झरना, कुहु कुहु गर्दै चिरबिराउने ती रानीवनका कोइली चरीका आवाजहरूसँगै नयाँ परिवेशका नयाँ आवाजहरू पहिल्याउँदै साझा परिवारभित्रको गहिरो मायाको अनुभूति गर्ने कोसिस सँगसँगै मेरी ५५ वर्षीया हजुर आमा (आबै)का ती सुकेका छातीका सुकेका स्तनपान आमाको पोषिलो दूधको प्यास मेटाउँदै निकै असाधारण बालापन व्यतीत गरेकी छु ।
लर्खराउँछन् यी मेरा पाइलाहरू आमा
जब पोषिला तिम्रा स्तनपान गर्न पाउँदिनँ
रसिएका हुन्छन्, मेरा यी निर्दोष नयनहरू आमा
जब ममतापूर्ण प्रतिविम्ब पाउँदिनँ
कुनाकन्दरा कोचिएकी हुन्छु आमा
जब शिशिर ऋतुको चिसो सिरेटोमा न्यानो अँगालो पाउँदिनँ ।।
तर, हजुर आमा (आबै)को त्यो दुई शब्दको शिक्षा आमाकी मामा, छामाकी आमा, यथार्थ रह्यो । बिस्तारै दुई मामाहरू जगबहादुर पुर्जा र भीमबहादुर पुर्जा, अनि छामाहरू अम्माया तिलिजा र सागरमाया फगामी ज्यू र अर्को वरदानरुपी मेरो जीवनमा आगमन भएको व्यक्ति हरिप्रसाद फगामी ज्यूको आश्रयको छहारीभित्र मायाको सागरमा पौडी खेल्दा खेल्दै ती असाधारण बालापनका तीता दृश्य यी मानसपटलबाट निकै धमिलिँदै थियो । जसमा म थिएँ, अनि मेरी आमा दिलकुमारी चोचाङ्गी ।
एक दिन साउनको महिनामा हरियाली भञ्ज्याङभित्र मेरी आमा मलाई च्यापेर वस्तुभाउका लागि घाँस काट्न जानुभएछ । केही समय लगत्तै एक जना घाँसको भारी बोक्दै उकाली चढ्दै गरेकी महिलाले चर्को आवाजमा एउटा बच्चा रोइरहेको सुन्नु भएछ, उहाँलाई आफ्नो कामले भन्दा पनि मानवीय मुटुले च्यापेछ । त्यसैले चुहिँदै गरेका पसिना पुछ्दै गरेको आवाजलाई पछ्याउँदै त्यो ठाउँसम्म पुग्नुभएछ, जो निकै तीतो र दयनीय अवस्था थियो । एक जना महिला अचेत अवस्थामा लडिरहेको र एक जना दुई वर्षीय बालिका रुँदै रुँदै ती अचेत महिलाको बन्द आँखा खोल्ने असम्भव प्रयत्न गरिरहेकी । त्यो बालिका म नै थिएँ, र ती महिला अरु कोही नभएर मेरी स्वर्गबासी आमा ।
जसोतसो मामाघरको भौतिक तथा मानवीय सम्बन्ध प्रगाढ बनाउने कोसिस गर्दै सातौं कक्षाको पठनपाठनमा सहभागी हुँदै दौंतरीहरूसँग घुलमिल हुँदै राम्रो पढ्ने कमसेकम नर्स बन्ने सकभर कुनै पनि बालबालिकालाई आमाको ममतादेखि वञ्चित नबनाउने प्रति १० लाखमध्ये २५८ को दरले जुन मातृ मृत्युदर भइरहेको छ, त्यसलाई न्यूनिकरण गर्न सक्दो पहल गर्ने जस्ता रंगीन चाहनाका तरंगहरू यी मानसपटलमा बीजारोपण गरी पलाएका कलिला टुसा हुर्काउँदै किशोरावस्था पार गर्दै के थिएँ, फेरि अर्को नचाहेको मोडले झटारो हानिहाल्यो । कुरा के भन्दा हामी अधिकांश मगर समुदायमा मामाको छोरीप्रति फुपूको छोराको वैवाहिक हक लाग्छ भन्ने जुन मान्यता छ, आखिर मलाई यसको घुम्टोभित्र छोपिनै कर लाग्यो । २०५७ सालमा १५ औं वसन्तमा रम्दै गर्दा विवाह बन्धनमा बाँधिनुप¥यो । विवाहसँगै ती पर्खिँदै बसेका मीठा सपनाहरू शान्त तालमा तैरिरहेका रहरका मुनाहरू सबै प्रस्फुटन हुन नपाउँदै परिस्थितिका भुमरीमा थिचेर सिरानी हालेर सुताइदिए ।

मेरा रहरका कोपिलाहरू समेट्न नमिल्ने गरी धूपको बासनासरि यत्रतत्र छरिदिएँ ।

अनि म मौन रही टोलाइरहेँ ।

आशाले भरिएका यी निर्दोष नयनहरू निराशाका च्यादरले तानेर छोपिदिएँ ।

सप्तरंगी रङमा कल्पेका जीवनहरू चुल्होको अग्निमा जलाइ कोइला बनाइदिएँ ।
श्रीमानलाई नै वर्तमान भविष्यको सिंगो भाग्यको रुपमा स्वीकार्दै सँगसँगै असल बुहारी, चेली, श्रीमती बन्ने प्रयत्न गर्दै समय अनुसारको मागलाई परिपूर्ति गर्दै गएँ । समयसँगै म एक छोरी सृष्टि पुन र एक छोरा साइरस पुनको आमा (जननी) बन्न पुगेँ । सायद पहिलो पटक भगवानलाई धन्यवाद दिएँ हूँला । समयको गतिसँगै कहिले गहिराइ, कहिले किनार, कहिले खुशी त कहिले निराशाको बादलभित्र बग्दै जीवनयापन गर्दा अधुरो अध्ययनको कारण होला निकै अमिलो अनि तीतो गतिविधि पनि सँगसँगै छायाँ बनेर हिँड्न थाल्यो । जीवन एक वरदान हो, एकपटक पाइन्छ अनि एकपटक मृत्यु हुन्छ । अन्यलाई असर नपु¥याएर खुशी हुनुपर्छ, खुशी हुन दिनुपर्छ । क्षमताको परिधिभित्र रहेर इच्छा आकांक्षा पूरा गर्न पाउनुपर्छ र पूरा गर्न दिनपर्छ भन्ने मान्यता बोकेकी म सायद एसएलसी उत्तीर्ण हुने रहर जुन अधुरो थियो । त्यसले गर्दा मेरो मनले कहिले नि शान्ति पाउन सकेन ।

पर्वतको महाशिला गाउँपालिकाका महिलाहरूलाई प्रशिक्षकका रुपमा तालिम दिएपछि वडाध्यक्ष ज्यूबाट सम्मान ग्रहण गर्दै ।

भनिन्छ, यदि हृदयदेखि नै केही चिजको चाहना भयो भने स्वयं ईश्वरले नै परिपूर्ति गर्न तल्लीन हुनुहुन्छ । कता कता यो भनाइ सत्यतामा आधारित जस्तो पनि आभास भयो । किनकि, एसएलसी बोर्डद्वारा निम्न माध्यमिक तह उत्तीर्ण इच्छुक विद्यार्थीका लागि सीधै एसएलसी परीक्षामा सहभागी हुन पाउने प्रावधान रहेको थाहा पाएँ । यो समाजले महिलाको लागि देखाइएको मापदण्ड पुरुषले बाँधिदिएको अनिच्छुक जञ्जिरहरूलाई तोडी आकांक्षा उमंगहरूलाई मन्द आशाका दीप बनाउँदै छोपिएका निराशाको च्यादर उतारी खुल्ला आकाश हेरि सुताइएका सपना ब्यूँझाइ जलाएर कोइला बनाइएका उमंगहरूलाई मन्द सन्तुष्टिको दीप बनाउने सानो आशाका त्यान्द्रा बोकी २७ वर्षको उमेरमा एसएलसी परीक्षा बोर्डको प्रवेशपत्र हत्केलामा बोकी श्री विद्यामन्दिर उच्च माविको प्रांगणमा पुगेँ र स–साना भाइ र बहिनीहरूसँग २०६८ सालको एसएलसी परीक्षामा सहभागी भइ पहिलो श्रेणीमा उत्तीर्ण गर्न सफल भएँ । तर, अध्ययनलाई निरन्तरता दिन भने चुनौतीपूर्ण रह्यो । तर, पनि मुस्किलले यो समाज र परिवारदेखि बेखबररुपी अध्ययन जारी राख्ने निधो गरेँ ।
आज म पोखरा महानगरपालिका वडा नं. ३०, ढुंगेपाटनमा बसोबास गर्दैछु र यहाँको समाजमा रहेको मभित्र छिपेको हामीको भावना असल समाजलाई उन्मुख राख्ने तत्वहरू एकीकरण, संयोजन, लक्ष्य उन्मुख, एकता आदिसँगै नारीप्रतिको सकारात्मक मानसम्मान, उत्प्रेरणाको वाहक बनेर बसेका अग्रज दाइ दिदीहरूको साथसँगै मलाई अगाडि धकेल्दै गरेको पाउँदा सही अर्थमा म पनि एक सामाजिक प्राणी हूँ । मलाई पनि यो दुनियाँमा कोही विश्वास गर्ने हुनुहुन्छ भन्ने आभास भयो । यति मीठो, यति चोखो, सुरक्षित अनुभव दिलाउन सक्नुभएकोमा म ढुंगेपाटन पुन मगर समाजलाई परिचित गराउन पाउँदा म आफ्नो आमाको गर्भ भनेर चिनाउन रुचाउँछु ।
यसरी आफ्नो स्थानीय समाजमा दायित्वसँगै रम्दै गर्दा संयोगवश एक दिन एउटा कार्यक्रममा मेरो भेट नेपाल मगर महिला संघ, कास्कीकी अध्यक्ष, आदरणीय श्री नुनु रानामगर ज्यूसँग हुन्छ । उहाँको त्यो अवर्णनीय शालीन स्वभाव, निस्वार्थ रुपमा लैंगिक, जातीय, वर्गीय विभेदीकरणविरुद्ध लागिपरेको देख्दा म केही पलमै उहाँबाट प्रभावित भएकी थिएँ । केही दिनपछि उहाँको छत्रछायाँमुनि को को हुनुहुन्छ भनी खोज्दा म स्वयं पनि त्यहाँ पाएकी थिएँ । किनकि, उहाँले मलाई आफ्नो कार्यसमितिमा बस्ने ठाउँको व्यवस्था गरिदिनुभएछ । त्यो समितिमा रहेर काम गर्दा कति बेला एक वर्ष बितेछ पत्तै भएन । निवर्तमान अध्यक्ष तथा केन्द्रीय सदस्य आदरणीय फूलकुमारी थापामगर ज्यूले कुनै बेला नूनलाई महिलाको परिस्थितिसँग तुलना गर्नुभएको थियो । सायद त्यसै तथ्यसँग आधारित भएकोले होला यस संस्थामा आबद्ध सम्पूर्ण महिला दिदीबहिनीहरूका हरेक नशा नशामा आत्मीयता बगेको न कुनै रिस, न कुनै लालच, केवल हामीको भावनाले भरिएको महिलाहरू क्रियाशील हुनुहुन्थ्यो ।

स्नातक उत्तीर्ण गरेकोमा नेपाल मगर महिला संघ, कास्कीकी अध्यक्ष श्री नुनु रानामगर ज्यूबाट सम्मान तथा बधाई ग्रहण गर्दै ।

एक वर्षको छोटो बसाइँमा यस परिवारले मलाई निकै आत्मविश्वासिलो बनाउन सफल रह्यो । फेरि, २०७६ साउन २८ गते सम्पन्न भएको नेपाल मगर संघ, कास्कीको जिल्ला अधिवेशनबाट मलाई जिल्ला समन्वय समिति सदस्यमा निर्वाचित गराउन महत्वपूर्ण भूमिका खेल्यो । ढुंगेपाटन पुन मगर समाजलाई मैले आमाको गर्भको रुपमा लिएकी छु । जहाँ मलाई सामाजिक क्षेत्रमा पाइला टेक्ने अवसर पाएँ । नेपाल मगर महिला संघ, कास्कीलाई माइतीका रुपमा सम्झिन्छु, जहाँ मैले थोरै आत्मविश्वास बढाउने आँगन पाएँ । आफ्नो आमा र माइती कति प्यारो हुन्छ, एउटी स्त्रीलाई सोध्न आवश्यक छैन । अब नेपाल मगर संघ, कास्कीलाई कर्मथलोका रुपमा लिँदै परिस्थितिले साथ दिएसम्म मगर समुदायको दायित्व निभाउनेछु ।
हिजो मात्र म पृथ्वीनारायण क्याम्पसको गेटबाट स्नातक उत्तीर्णको प्रमाणपत्र लिएर निस्केकी छु । शैक्षिक क्षेत्रमा आवश्यक भन्दा बढीसँगै सोंचेभन्दा फरक फरक शैलीको उतार चढाव आएतापनि भनिन्छ, सानो मान्छेलाई सानै सफलता नै प्रिय लाग्छ । ठूलोलाई ठूलो तर, म भन्छु मान्छेको सन्तुष्टिको कुरा सानो ठूलो सफलतामा होइन, जुनकि मनको गहिराइमा भर पर्दछ भन्ने कुरा मेरो जीवनको यात्रा पार गर्ने क्रममा कुनै घटनाले सिकाएको छ, “जबर्जस्ती थुपारिएको सुखभन्दा स्वेच्छाले ग्रहण गरेको दुःख बरु प्यारो ।”

नेपाल मगर संघ, कास्कीले आयोजना गरेको अन्तर एकाइ ब्याडमिन्टन प्रतियोगितामा तृतीय भएपछि गण्डकी प्रदेशका प्रमुख माननीय श्री अमिक शेरचन ज्यूको बाहुलीबाट पुरस्कार ग्रहण गर्दै ।

अन्त्यमा विशेषगरी, महिला वर्गमा एउटा कुरा बाँड्न रहर लाग्यो यदि तपाईभित्र केही सकारात्मक परिवर्तनको लागि कुनै कुराले तपाईको अन्तर आत्मालाई ढकढकाइ रहेको छ भने त्यसलाई उमेर, पैसा, समाज इत्यादिको कारण बनाएर गुम्साएर नराख्नुहोला । केवल एकपटक ढकढकाउँदै गरेको ढोका खोली ताजा हावासहितको चाहनाका मीठो बासनालाई स्वागत गरेर एक कदम चालेर अगाडि हेर्नुहोस्, बाँकी कदमका लागि सिंढीहरू तपाईंलाई खोज्दै तपाईंको समीप आइपुग्नेछ ।
(लेखिका, नेपाल मगर संघ, कास्कीकी जिल्ला सदस्य हुनुहुन्छ ।)