कास्कीका मगर समुदायले मनाए माघे सकराती

पोखरा, १ माघ
कास्कीका मगर समुदायले माघे सकराती पर्व मनाएका छन् । कुलपितृलाई सम्झिएर पूजा गरी चेलीबेटीलाई दानदक्षिणा गरी मगर समुदायले यो पर्व मनाउँदै आएका छन् । बुधबार नेपाल मगर संघ, कास्कीले विशेष कार्यक्रमको आयोजना गरी माघे सकराती पर्व मनाएको हो । सो अवसरमा कार्यक्रममा सहभागीहरू विभिन्न मगरी खानाका परिकार र नाचगानमा समेत सरिक भए । कार्यक्रममा विभिन्न कलाकारहरुले आ–आफ्नो गायन प्रस्तुत गरे । माघे सकराती पर्वलाई मगर समुदायले नयाँ वर्षका रुपमा र आफ्नो पितृको सम्झना एवं चेलीबेटी पुज्ने पर्वका रुपमा मनाउँछन् ।


कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले भाषा, संस्कृति कुनै पनि समुदायको पहिचान भएको र त्यसको संरक्षणमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । सबै जाति र समुदायको भाषा र संस्कृतिको संरक्षण गर्दै देशलाई समृद्धिको यात्रामा अघि बढाउनुपर्ने बताउँदै प्रदेश प्रमुख शेरचनले नेपालको जातीय र भाषिक, सांस्कृतिक विविधता संसारमै अनुपम रहेको बताउनुभयो ।


संविधानमा प्राप्त उपलब्धीको रक्षा गर्दै केही असन्तुष्टि भए शान्तिपूर्ण र वैधानिक संघर्षबाटै पूरा गराउन सकिने प्रदेश प्रमुख शेरचनले बताउनुभयो । नेपालका विभिन्न जातजाति र भाषाभाषीका संस्कार तथा संस्कृतिलाई पाठ्यक्रममा समावेश गर्न आवाज उठाउन जरुरी रहेको भन्दै उहाँले राज्यले सबै संस्कार र संस्कृतिलाई समान व्यवहार गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कास्की जिल्ला इञ्चार्ज राजकाजी गुरुङ “करण”ले अब देशले आदिवासी जनजाति समुदायबाट राष्ट्रपति र प्रधानमन्त्री खोजेको बताउनुभयो । जनयुद्ध र जनआन्दोलनजस्ता बलिदानीपूर्ण संघर्षबाट मात्रै विविध जातजाति र समुदायले अधिकार प्राप्त गर्ने अवस्था आएको भन्दै नेता करणले अझै पनि भनेजस्तो परिवर्तन भइनसकेको बताउनुभयो ।
नेकपा, कास्कीका सचिव बखानसिंह गुरुङ “आभास”ले नेपालका सबै जातजातिका सांस्कृतिक पर्वलाई राज्यले विशेष चासो दिनुपर्ने आवश्यकता औंल्याउनुभयो । नेपाल मगर संघका केन्द्रीय संरक्षक झकबहादुर थापामगरले मगर जातिको पहिचान लोप हुन थालेकोमा चिन्ता व्यक्त गर्दै भाषा, संस्कृति संरक्षणमा सबैको चासो रहनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल बार एशोसिएसनका उपाध्यक्ष अधिवक्ता सुरेन्द्र थापामगर, नेपाल मगर संघका केन्द्रीय सल्लाहकार बालकृष्ण काउछामगर, नेकपा (क्रान्तिकारी माओवादी)का नेता भीमबहादुर श्रीसमगर, मंगोल नेशनल अर्गनाइजेशनका केन्द्रीय सदस्य प्रेमछिरी शेर्पा, नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद्, कास्कीका अध्यक्ष धर्म गुरुङ, नेपाल मगर महिला संघ, कास्कीकी अध्यक्ष नुनु रानामगर, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकाललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।


नेपाल मगर संघ, कास्कीकी अध्यक्ष संगीता पुनमगरको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष बुद्धिमाया थापामगर र सचिव रामबहादुर थापामगरले पनि बोल्नुभएको थियो । कार्यक्रममा कक्षा १२ उत्तीर्ण मगर विद्यार्थीहरूलाई सम्मान गरिएको थियो भने अन्तर एकाइ ब्याडमिन्टन (डबल्स) प्रतियोगिताका बिजेता खेलाडीहरूलाई पुरस्कार वितरण गरिएको थियो ।
नेपाल मगर संघ, कास्कीले माघे संक्रान्ति पर्वको पूर्व सन्ध्यामा आयोजना गरेको अन्तर एकाइ ब्याडमिन्टन (डबल्स) प्रतियोगिताको उपाधि प्रौढतर्फ दीप बगर एकाइ, महिलातर्फ रामबजार र युवातर्फ सराङकोट एकाइले जितेको थियो । शनिबारदेखि सुरु भएको प्रतियोगिता सोमबार सकिएको हो । प्रतियोगितामा प्रौढतर्फ प्रथम हुने दीप बगर एकाइका रामप्रसाद बुदुजामगर र पूर्णबहादुर रानामगर, द्वितीय ढुंगेपाटनका क्या. भक्तबहादुर पुनमगर र रामबहादुर पुनमगर, तृतीय रामबजार एकाइका ज्ञानेन्द्र थापामगर र भरत रानामगर तथा चाउथे कदममार्ग एकाइका हर्क आलेमगर र दलबहादुर सूर्यवंशीमगर रहेका छन् ।
त्यस्तै, महिलातर्फ प्रथम हुने रामबजार एकाइका सुधा थापामगर र ओमकुमारी रानामगर, द्वितीय ढुंगेपाटन एकाइका मिनु पुर्जामगर र माया पुनमगर, तृतीय माटेपानी एकाइका रिमाकुमारी पुनमगर र सोममाया पाइजामगर तथा ढुंगेपाटन एकाइका पुष्पा पुनमगर र पुनम पुनमगर रहेका छन् । त्यसैगरी, युवातर्फ प्रथम हुने सराङकोट एकाइका रेशम आलेमगर र प्रेम पुनमगर, द्वितीय दीप बगरका शमशेर सारूमगर र होमबहादुर पुनमगर, तृतीय अर्घौ एकाइका दलसुर पुर्जामगर र ओम रानामगर तथा दीप बगर एकाइका पूर्णबहादुर रानामगर र रामप्रसाद बुदुजामगर रहेका छन् ।

 

कार्यक्रममा कलाकारहरू सुरेश रानामगर, रेनु रिलामीमगर, वसन्ती थापामगर र रेशम थापामगरले गायन प्रस्तुती राखेका थिए ।

Advertisment