लोकतान्त्रिक राष्ट्रिय मगर मोर्चा, गण्डकी प्रदेश कमिटीको सपथ ग्रहण

पोखरा, २९ पुस
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)निकट लोकतान्त्रिक राष्ट्रिय मगर मोर्चा, नेपाल, गण्डकी प्रदेश कमिटीको एकता प्रक्रिया टुंगिएसँगै सपथ ग्रहण सम्पन्न भएको छ ।


प्रदेश संयोजक लोकेन्द्र थापामगर र सह–संयोजक चिनीमाया कालामगरसहित ५५ सदस्यीय गण्डकी प्रदेश कमिटीका सदस्यहरूलाई मोर्चाका केन्द्रीय संयोजक भोजविक्रम बुढामगरले सपथ ग्रहण गराउनुभयो ।


सपथ ग्रहण तथा मोर्चाको गण्डकी प्रदेश कमिटीको प्रथम पूर्ण बैठकलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का गण्डकी प्रदेश सह–इञ्चार्ज खगराज अधिकारीले कम्युनिष्ट पार्टी निर्माणमा मगर समुदायको ठूलो योगदान रहेको बताउनुभयो । दशवर्षे जनयुद्ध, जनआन्दोलन, झापा विद्रोहमा पनि मगर समुदायले अग्रणी भूमिका खेलेको स्मरण गर्दै नेता अधिकारीले मगर समुदायबाट तनहुँका एकदेव आलेलगायतका नेताहरूले पार्टी निर्माणमा पनि उत्तिकै योगदान पु¥याएको बताउनुभयो ।


मोर्चाका केन्द्रीय संयोजक भोजविक्रम बुढामगरले मगर समुदाय र कम्युनिष्ट पार्टीबीच अन्योन्याश्रित सम्बन्ध रहेको जिकिर गर्नुभयो । जातीय मुक्तिका लागि लडेको कम्युनिष्ट पार्टीले समेत अझै पनि मगर समुदायको समानुपातिक प्रतिनिधित्व गराउन नसकेको भन्दै बुढामगरले नेपालको राजनीति र प्रशासनमा मगर समुदायको प्रतिनिधित्व हेर्दा चित्त बुझाउने ठाउँ नरहेको बताउनुभयो ।


मोर्चाका गण्डकी प्रदेश इञ्चार्ज लालबहादुर थापामगरले राजनीतिमा सक्रिय सहभागिता नभएसम्म जातीय मुक्ति कठिन हुने भन्दै मगर समुदायले राजनीतिमा विशेष चासो दिनुपर्ने बताउनुभयो । लोकतान्त्रिक राष्ट्रिय मगर मोर्चा, नेपाल, गण्डकी प्रदेश कमिटीका संयोजक लोकेन्द्र थापामगरको अध्यक्षतामा भएको कार्यक्रममा सह–इञ्चार्ज कृष्ण लामिछानेमगर र सह–संयोजक चिनीमाया कालामगरले पनि बोल्नुभएको थियो ।

Advertisment