अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साना माछालाई मात्र नभइ ठूला माछालाई समेत अनुसन्धानमा ल्याउन जरुरी रहेको गण्डकी प्रदेश प्रमुख – शेरचनको भनाइ

पुस २८,पोखरा । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई विवादरहित बनाउन आग्रह गरेका छन । प्रदेश प्रमुख शेरचनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन ग्रहण गर्दै आयोगलाई विवादरहित बनाउन आग्रह गरेका हुन । आयोगका सहसचिव सन्देश श्रेष्ठले प्रदेश प्रमुखको निवासमा गण्डकी प्रदेशको विवरण समेटिएको प्रतिवेदन हस्तान्तरण गरेका थिए । आयोगले सोमबार एकै समयमा राष्ट्रपतिसँगै ७ वटै प्रदेश प्रमुखलाई प्रतिवेदन हस्तान्तरण गरेको थियो । प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख शेरचनले नागरिको आस्थाको केन्द्र अख्तियारलाई विवादरहित बनाउन आग्रह गरेका हुन । लोकतन्त्रको संस्थागत विकासका लागि सदाचारयुक्त समाज चाहिने भन्दै शेरचनले यसका लागि आयोग आफै विवादमुक्त हुनुपर्ने बताएका हुन् । पछिल्लो समय आयोगकै पदाधिकारी समेत अनियमिततामा संलग्न रहेको खबर आउनुले उक्त संस्थाप्रतिको विश्वसनीयतामा कमी आएको उनको भनाइ थियो । ससाना लेनदेनमा लागेकालाई मात्र अख्तियारले पक्राउ गरेको खबर आउने गरेको तर्फ संकेत गर्दै शेरचनले अब ठूला माछालाई समेत अनुसन्धान गरी मुद्दा प्रक्रिया थाल्न सुझाव दिए ।


आयोगका सहसचिव सन्देश श्रेष्ठले आयोगले विवादमुक्त हुनेगरी काम गर्दै आइरहेको धारणा राखेका थिए । श्रेष्ठले उपचारात्मक निरोधात्मक र प्रवद्र्धनात्मक गरी ३ खम्बे नीति अनुसार काम गर्दै आएको वताउदै यो वर्षबाट संस्थागत सुदृढीकरणलाई पनि आयोगले रणनीतिमै समटेर अगाडि बढेको वताए ।

आयोगको पोखरा कार्यालयले गएको वर्ष अनुसन्धानका क्रममा ३२ लाख रुपैयाँ असुल उपर गरेको छ । ४५ वटा मुद्धा विस्तृत अनुसन्धानमा पठाइएको छ । वर्षभरिमा प्रदेशभर ६ वटा स्टिङ अपरेसन भएको छ । आयोग प्रदेश कार्यालयले कृषि विकास बैंकको अतिक्रमित ६ रोपनी जग्गा फिर्ता गराउन सफल भएको दाबी गरेको छ । सरोकारवालासँग समन्वयात्मक बैठक बसी सेवा प्रवाहमा सुधार, सार्वजनिक जग्गा संरक्षण, विचौलिया निरुत्साहन गरिएको प्रतिवेदनमा उल्लेख छ । आयोगमा १६ हजार ९ सय ९७ उजुरी परेकोमा सवै भन्दा कम कर्णालीमा र त्यसपछि गण्डकीमा परेको जनाएको छ ।

Advertisment