मगर संघ, कास्कीको अन्तर एकाइ ब्याडमिन्टन प्रतियोगिता सुरु

पोखरा, २६ पुस
नेपाल मगर संघ, कास्कीले माघे संक्रान्ति पर्वको पूर्व सन्ध्यामा आयोजना गरेको अन्तर एकाइ ब्याडमिन्टन (डबल्स) प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा नेपाल मगर संघ, कास्की अन्तर्गतका विभिन्न एकाइ समितिबाट ३५ टिम सहभागी भएका छन् ।
गण्डकी प्रदेशसभाकी सांसद् एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलकी प्रमुख सचेतक गायत्री गुरुङ ‘कुसुम’ले प्रतियोगिताका रेफ्रीलाई ब्याडमिन्टन सामग्री हस्तान्तरण गरेर सो प्रतियोगिताको उद्घाटन गर्नुभयो । सो अवसरमा बोल्दै प्रमुख सचेतक गुरुङले ब्याडमिन्टन प्रतियोगिताले स्वास्थ्यका लागि मात्र नभइ नयाँ खेलाडी उत्पादनका लागि समेत महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
मगर समुदायबाट उत्कृष्ट ब्याडमिन्टन खेलाडी उत्पादन गर्न यस्ता प्रतियोगिताले सघाउने बताउँदै उहाँले मगर समुदायलाई चिनाउन समेत यस प्रतियोगिताको महत्व रहेको बताउनुभयो । खेलकुद प्रतियोगिताजस्तो रचनात्मक कार्यक्रम गरेकोमा मगर संघ, कास्कीलाई धन्यवाद दिँदै सांसद् गुरुङले यस्ता कार्यक्रमले निरन्तरता पाउनुपर्नेमा जोड दिनुभयो । मगर संघ, कास्कीको सांगठनिक र मगर समुदायको विकासका लागि आफूले सक्दो सहयोग गर्ने समेत सांसद् गुरुङले आश्वासन दिनुभयो ।


नेपाल मगर संघ, कास्कीका सल्लाहकार बालकृष्ण काउछामगर, नेपाल मगर संघका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश इञ्चार्ज खेम पुनमगर, नेपाल मगर महिला संघ, कास्कीकी अध्यक्ष नुनु रानामगर र नेपाल मगर संघ, कास्कीका सल्लाहकार इन्द्रबहादुर गर्बुजामगरले खेलकुद स्वास्थ्यका लागि जति महत्वपूर्ण छ, उत्तिकै देश र समुदायका लागि पनि महत्वपूर्ण भएको बताउनुभयो ।
नेपाल मगर संघ, कास्कीका अध्यक्ष संगीता पुनमगरको अध्यक्षतामा भएको कार्यक्रममा सचिव रामबहादुर थापामगर र प्रतियोगिता संयोजक एवं युवा तथा अतिरिक्त क्रियाकलाप विभाग प्रमुख दिनेश रोकामगरले पनि बोल्नुभएको थियो ।
सोमबारसम्म चल्ने प्रतियोगितामा युवा, प्रौढ तथा महिला गरी तीन समूह अन्तर्गतका ३५ टिम दर्ता भएको प्रतियोगिता सह–संयोजक एवं संगठन विभाग प्रमुख भक्तबहादुर पुनमगरले जानकारी दिनुभयो । शनिबार भएको खेल अन्तर्गत प्रौढ समूहको पहिलो चरणका सबै खेल सकिएका छन् भने युवा समूहको पनि पहिलो चरणको खेल सुरु भएको छ । त्यस्तै, महिला समूहको खेल आइतबार सुरु हुने भाषा तथा शिक्षा विभाग प्रमुख शिव थापामगरले जानकारी दिनुभयो ।

Advertisment