पर्यटन प्रवद्र्धनका लागि मिडियाको भूमिका महत्वपूर्ण ः मन्त्री लम्साल

पोखरा, २५ पुस
गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले पर्यटन प्रवद्र्धनका लागि मिडियाको भूमिका महŒवपूर्ण भएको बताउनुभएको छ ।
फेवा टेलिभिजनको तेस्रो वार्षिक साधारणसभाको बिहीबार उद्घाटन गर्दै मन्त्री लम्सालले पर्यटन प्रवद्र्धनका लागि प्रचारप्रसार मुख्य कुरा भएको बताउनुभयो । गण्डकी प्रदेशको लोकसंस्कृतिलाई उजागर गर्न फेवा आइडलको आयोजना गरेर फेवा टेलिभिजनले प्रशंसनीय कार्य गरेको भन्दै मन्त्री लम्सालले लोकसंस्कृतिका क्षेत्रमा काम गर्न यस्ता खालका कार्यक्रम प्रदेश सरकारका लागि आधार भएको उल्लेख गर्नुभयो ।
मिडियाले सत्य, तथ्य सूचना प्रवाह गर्नुपर्नेमा जोड दिँदै उहाँले सरकारले गरेका राम्रा कामको प्रचार गरिदिन सञ्चारमाध्यमसँग आग्रह गर्नुभयो । प्रदेशको समृद्धिका लागि मिलेर काम गर्न मन्त्रालय तयार रहेको भन्दै मन्त्री लम्सालले गण्डकी प्रदेश सरकारले विगत दुई वर्षमा विकासको जग हाल्ने काम गरेको बताउनुभयो ।
सञ्चारमाध्यमलाई आधुनिक प्रविधिमा लैजानुपर्ने आवश्यकता औंल्याउँदै मन्त्री लम्सालले सञ्चारमाध्यमको सबलीकरणका लागि आवश्यक सहयोग गर्न प्रदेश सरकार तयार रहेको उल्लेख गर्नुभयो । सरकार र निजी क्षेत्र मिलेर रोजगारी सिर्जना गर्नु अहिलेको आवश्यकता रहेको उहाँको भनाइ थियो ।
गण्डकी प्रदेशसभाका अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला ‘रुपक’ले लोकसंस्कृति पर्यटनको मुख्य आधार भएको बताउनुभयो । गण्डकी प्रदेश लोकसंस्कृतिमा धनी प्रदेश भएको भन्दै उहाँले लोकसंस्कृतिलाई उजागर गर्न सरकारले गर्नुपर्ने काम एउटा सञ्चारमाध्यमले गर्नु प्रशंसनीय भएको बताउनुभयो । लोकसंस्कृति अध्ययनका लागि प्रदेश सरकारले फेवा टेलिभिजनसँग सहकार्य गरेर अघि बढ्नुपर्नेमा सभापति रुपकले जोड दिनुभयो ।
कार्यक्रममा संस्कृतिविद् तुलसी प्रभासले लोकसंस्कृति देशको पहिचान भएको भन्दै मौलिक लोकसंस्कृतिको संरक्षण र प्रवद्र्धनमा फेवा टेलिभिजनले उदाहरणीय कार्य गरेको बताउनुभयो । नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पौडेलले अधिकांश सञ्चारमाध्यमले श्रमजीवि पत्रकार ऐन कार्यान्वयन गर्न हिच्किचाएको पाइएको बताउँदै फेवा टेलिभिजनले ऐन कार्यान्वयन गरेको भए पत्रकार महासंघ आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो । त्यस्तै, पोखरा महानगरपालिका वडा नं. २४ का वडाध्यक्ष ओमप्रसाद सुवेदीले सूचना एवं मनोरञ्जनका हिसाबले पनि फेवा टेलिभिजनले छोटै समयमा दर्शकको मन जित्न सफल भएको भन्दै बधाई दिनुभयो ।
सो अवसरमा यस वर्षको उत्कृष्ट कर्मचारीका रुपमा फेवा टेलिभिजनकी लेखा सहायक पूजा साईलाई सम्मान गरिएको थियो । त्यस्तै, पहिलो संस्करणको फेवा आइडलका निर्णायकत्रय संस्कृतिविद् तुलसी प्रभास, वरिष्ठ लोकगायक बुद्धिमान दुरा ‘धम्पु’ र नृत्य निर्देशक राम लामालाई पनि सम्मान गरिएको थियो ।
फेवा टेलिभिजनका अध्यक्ष तेजेन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा फेवा टेलिभिजनका प्रबन्ध निर्देशक लीलाबहादुर जिसी र लेखा संयोजक राजु श्रेष्ठले पनि बोल्नुभएको थियो । साधारणसभाले बन्दसत्रमा प्रस्तुत भएका अध्यक्षको प्रतिवेदन, लेखा प्रतिवेदन र प्रगति प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।

Advertisment