एपेक्स लाईफ स्कूलका विद्यार्थीले आविष्कार केन्द्रलाई दिए एक लाख

काठमाडौं, १५ पुस । आफ्नो खाजाको रकम बचाएर काठमाण्डौँ चावहिलस्थित एपेक्स लाईफ स्कूलका विद्यार्थीले राष्ट्रिय आविष्कार केन्द्रलाई एक लाख एक हजार पाँच रुपैया प्रदान गरेका छन् । त्यसमा विद्यालयका तर्फबाट पनि रकम सहयोग गरिएको छ ।
किर्तिपुरमा आज आयोजित कार्यक्रम विद्यालयका कार्यकारी निर्देशक सुवास न्यौपाने र विद्यार्थीले केन्द्रका सञ्चालक महावीर पुनलाई सो रकम प्रदान गर्नुभयो । नेपाली माटो सुहाउँदो ज्ञान, विज्ञान र अनुसन्धान गर्न खोलिएको केन्द्रमा सरकारको नजर पर्न नसकेको अवस्थामा विद्यार्थीले खाजा रकमबाट बचाएको रकममा विद्यालयले समेत सहयोग गरी उक्त रकम प्रदान गरिएको निर्देशक न्यौपानेले जानकारी दिनुभयो ।

“ सरकारले सहयोग गर्नुपर्ने व्यक्तिलाई रचनात्मक र सृजनात्मक काम भनेर सांकेतिक रुपमा हामीले सहयोग गरेका हौ,” स्कूलका निर्देशक सुवास न्यौपानेले भन्नुभयो ।

ग्रामीण क्षेत्रमा सूचना प्रविधिको क्षेत्रमा क्रियाशील भएर देश विदेशमा विभिन्न पुरस्करबाट सम्मानित हुनुभएका महावीर पुनले आफू यो क्षेत्रमा २८ वर्षसम्म क्रियाशील भएपनि सरकारले चिन्न नसकेको र अनुसन्धानका काम गर्न न्यून ब्याजदरमा ऋण चाहँदा पाउन नसकेको विद्यार्थीसँगको अन्तक्र्रियामा बताउनुभयो । सो अवसरमा विद्यार्थीले महावीर पुनसँग छलफल गर्नुका साथै आविष्कार केन्द्रको अभिरुचिपूर्वक अवलोकन गरेका थिए ।


राजधानीमा रहेर विद्यालय शिक्षा र पठनपाठनमा लामो समयदेखि आफ्नो विशिष्ट पहिचान बनाउन सफल यस क्षेत्रकै पुरानो एपेक्स लाईफ स्कूलले अतिरिक्त क्रियाकलापका अतिरिक्त यस प्रकारका रचनात्मक काम गर्दै आएको छ ।
विसं २०४० सालमा स्थापना भएको यो शुरुमा शिशु निकेतन, त्यसपछि सेरेन भ्याली हुँदै एपेक्स लाइफ स्कूल नामाकरण भएको स्कूलका व्यवस्थापक विन्दु न्यौपानेले जानकारी दिनुभयो । विद्यालयमा एकदेखि दश कक्षासम्म हाल करीव ४५० विद्यार्थी अध्ययनरत छन् । हालसम्म २४ ब्याच विद्यार्थीले एसएलसी दिइसकेको र उत्कृष्ट नतिजा हासिल गरेको विद्यालयले जनाएको छ ।
पढाईका अतिरिक्त विद्यालयले बेलाबेलामा शैक्षिक प्रदर्शनी, अतिरिक्त क्रियाकलाप र सांस्कृतिक कार्यक्रम गरी विद्यार्थीको प्रतिभा प्रस्फुटनको मौका दिँदै आएको छ । विद्यालयले संस्कृत भाषा, नैतिक शिक्षा र नेपाली संस्कार र आदर्श अनुरुपको पठनपाठनमासमेत जोड दिएको छ ।

Advertisment