कवयित्री रोशनी गुरुङको ‘स्वर्गको एक फन्को’

पोखरा, १४ पुस
अक्सर मान्छे जन्म दिन मनाउँछन्, केक काट्छन् अनि उपहार आदानप्रदान गर्छन्, भोज खान्छन् । तर, जन्म दिनलाई पनि फरक तरिकाले मनाउन सकिन्छ भन्ने पुष्टि गर्नुभएको छ, कवयित्री रोशनी गुरुङले ।
पत्रकारका रुपमा स्थापित रोशनी अब कवयित्रीका रुपमा आउनुभएको छ । आइतबार बिहान पोखरामा कवयित्री रोशनी गुरुङको पहिलो साहित्यिक कृति कविता संग्रह “स्वर्गको एक फन्को” विमोचन भएको छ । आफ्नो पहिलो कविता कृति कवयित्री रोशनीले पाठकलाई उपहार दिनुभएको छ । पत्रकार रोशनी गुरुङको परिचयमा अब कवयित्री पनि थपिएको छ ।
मादी गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङ ‘श्याम’ र सीता गुरुङले सो कृतिको विमोचन गर्नुभएको हो । कार्यक्रममा कृतिबाट रोज्जा २ कविता कवि माया घोताने गुरुङ, रीता अधिकारीले सुनाउनुभयो । साहित्यकार तीर्थ गुरुङले कविताबाट रोशनीले स्थानीय लवज र भोगाइ प्रस्तुत गरेको बताउनुभयो । उहाँले कवितामा कला र विचार संयोजन गर्दै यात्रा अनवरत बनाउन आग्रह गर्नुभयो ।
कवयित्री रोशनीले कविता सिकिरहेको र आफ्नो कविता जाँच्न संग्रह प्रकाशन गरेको बताउनुभयो । ‘स्कुलदेखि नै लेख्थें । तर, कविता के हो भन्ने अझै थाहा पाउन सकेकी छैन,’ उहाँले भन्नुभयो । गुरुङ साहित्यिक मञ्चकी अध्यक्ष गौरी तमुले कवि रोशनी पछिल्लो पुस्ताकी बलियो हस्ताक्षर भएको बताउनुभयो ।
गुरुङ साहित्यिक मञ्च नेपालले प्रकाशन गरेको कृतिको मूल्य २ सय रुपैयाँ छ । संग्रहमा २८ कविता छन् । कार्यक्रममा मञ्चका उपाध्यक्ष ई. रोशन गुरुङ, सदस्य सम्राट गुरुङलगायतले बोल्नुभएको थियो ।

Advertisment