मगर सांस्कृतिक संघ, कास्कीद्वारा संरक्षक तथा सल्लाहकारलाई स्वागत

पोखरा, ५ पुस
नेपाल मगर सांस्कृतिक संघ, कास्कीले बैठकद्वारा संरक्षक तथा सल्लाहकारमा नियुक्त भएका संरक्षक एवं सल्लाहकारहरूलाई शनिबार स्वागत गरेको छ ।
संरक्षक नेपाल मगर संघ, कास्कीकी संगीता पुनमगरलाई नेपाल मगर सांस्कृतिक संघ, कास्कीकी अध्यक्ष सरिता सारूमगरले खादा र टीकाद्वारा सम्मानसहित स्वागत गर्नुभयो । त्यसैगरी, सल्लाहकारहरू नेपाल बार एशोसिएसनका उपाध्यक्ष अधिवक्ता सुरेन्द्र थापामगर, नेपाल मगर संघ, गण्डकी प्रदेशकी महिला उपाध्यक्ष तारामाया थापामगर, राष्ट्रिय मौलिक कौरा संरक्षण समिति, नेपालका अध्यक्ष हर्कबहादुर आलेमगर र नेपाल मगर महिला संघकी केन्द्रीय सदस्य फूलकुमारी थापामगरलाई स्वागत गरिएको थियो ।
त्यस्तै, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय सदस्य कुमार पुनमगर, नेपाल मगर सांस्कृतिक मञ्च, कास्कीका संस्थापक अध्यक्ष तिलकप्रसाद पुनमगर, नेपाल मगर पत्रकार संघका केन्द्रीय उपमहासचिव रूद्रबहादुर श्रीसमगर, म्यूजिक भिडियो निर्देशक एवं सर्जक गोविन्द पुनमगरलाई कार्यक्रममा स्वागत गरिएको हो ।


स्वागतपछि बोल्दै नेपाल बार एशोसिएसनका उपाध्यक्ष अधिवक्ता सुरेन्द्र थापामगरले मगर कलाकारहरूले मगर समुदायको सांस्कृतिक दूतका रुपमा काम गर्नुपर्ने बताउनुभयो । सल्लाहकारका रुपमा आफूलाई मगर सांस्कृतिक संघले जिम्मेवारी दिएको ठानेको बताउँदै उहाँले मौलिक संस्कृति कुनै पनि समुदायको अस्तित्वसँग जोडिएको उल्लेख गर्नुभयो ।
नेपाल मगर महिला संघकी केन्द्रीय सदस्य फूलकुमारी थापामगरले पछिल्लो समय गीत संगीतको मौलिकता हराउँदै गएकोमा चिन्ता व्यक्त गर्दै मौलिकता संरक्षणका लागि मगर कलाकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । नेपाल मगर संघ, गण्डकी प्रदेशकी महिला उपाध्यक्ष तारामाया थापामगरले मगर संस्कृतिको संरक्षणका लागि मगर कलाकारले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुभयो ।
नेपाल मगर सांस्कृतिक संघ, कास्कीकी अध्यक्ष सरिता सारूमगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव सुरेश रानामगर र कोषाध्यक्ष वसन्ती थापामगरले स्वागत गर्नुभएको थियो ।

Advertisment