फोनिज, गण्डकी प्रदेशद्वारा विभाग प्रमुख तथा सल्लाहकार चयन

भीरचोक (कास्की), ४ पुस
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकी प्रदेश समितिको दोस्रो पूर्ण बैठकले विभिन्न विभाग प्रमुख तथा सल्लाहकार चयन गरेको छ ।
कास्कीको रुपा गाउँपालिका वडा नं. ६ स्थित भीरचोक होम स्टेमा सम्पन्न बैठकले प्रशिक्षण विभागको प्रमुखमा उपाध्यक्ष दिल शिरीष, संगठन विभाग प्रमुखमा संगठन सचिव खिमा गुरुङ, आर्थिक विभाग प्रमुखमा कोषाध्यक्ष सिर्जना रानामगर र अनुशासन विभाग प्रमुखमा कार्यसमिति सदस्य मणि गुरुङलाई चयन गरेको छ ।
त्यसैगरी, बैठकले पाँच जना सल्लाहकार समेत चयन गरेको छ । जसमा राजेशचन्द्र राजभण्डारी (बागलुङ), तिलकप्रसाद पुन (कास्की), शान्ति गुरुङ (कास्की), अधिवक्ता जुनाकुमारी गुरुङ (कास्की) र केबी रानामगर (नवलपुर) रहनुभएको छ । त्यस्तै, सो बैठकले रिक्त पाँच जना सदस्यमध्ये दुई जना सदस्य मनोनित समेत गरेको छ । जसमा सुरज श्रेष्ठ र उमेश पुन रहनुभएको छ ।
साथै, बैठकले मृगौलाको समस्याबाट पीडित फोनिजका केन्द्रीय सल्लाहकार राजबहादुर गुरुङको उपचारका लागि सहयोग संकलन गर्ने र त्यसका लागि संगठन सचिव खिमा गुरुङलाई संयोजक तोकेको महासचिव रूद्रबहादुर श्रीसले जानकारी दिनुभयो । त्यसैगरी, बैठकले गण्डकी प्रदेशभित्रका शाखा नभएका जिल्लाहरूमा शाखा विस्तार गर्ने निर्णय समेत गरेको महासचिव श्रीसले जनाउनुभयो ।
बैठकमा फोनिज, गण्डकी प्रदेश समिति अध्यक्ष एमबी आस्था मगरले हालसम्म भएका काम र भावी योजनाका बारेमा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने जिल्लागत रुपमा विभिन्न प्रतिनिधिहरूले रिपोर्टिङ गरेको श्रीसले बताउनुभयो । बैठकमा फोनिजका प्रदेश इञ्चार्ज हुमबहादुर गुरुङले केन्द्रीय समितिको परिपत्र र आवश्यक दिशानिर्देश गर्नुभएको महासचिव श्रीसले जानकारी दिनुभयो ।

Advertisment