समाजवादी महिला संघ, गण्डकी प्रदेश अध्यक्षमा श्याममाया पुन

पोखरा, ४ पुस
सत्ता साझेदार दल समाजवादी पार्टीनिकट साबिक दुई महिला संगठनबीच गण्डकी प्रदेशमा समायोजन सम्पन्न भएको छ । शुक्रबार पोखरामा आयोजित समायोजन कार्यक्रममार्फत् साबिक महिला शक्ति महासंघ र संघीय समाजवादी महिला फोरमबीच समायोजन भइ समाजवादी महिला संघ, नेपाल, गण्डकीको नयाँ नेतृत्व चयन भएको छ ।
समायोजित समाजवादी महिला संघ नेपाल, गण्डकी प्रदेशको अध्यक्षमा श्याममाया पुन सर्वसम्मत चयन हुनुभएको छ । त्यसैगरी, वरिष्ठ उपाध्यक्षमा नारायणी अधिकारी, उपाध्यक्षद्वयमा फूलमाया पुर्जामगर र पुनम नेपाली, सचिवमा देवी क्षत्री, सह–सचिवद्वयमा रेखा तिवारी र उमा गुरुङ र कोषाध्यक्षमा विना घर्तीमगर चयन हुनुभएको छ । योसँगै समाजवादी महिला संघ नेपाल, गण्डकी प्रदेशको ५१ सदस्यीय प्रदेश समिति गठन भएको छ ।


यसअघि, समायोजन कार्यक्रमलाई सम्बोधन गर्दै समाजवादी पार्टीकी सचिव एवं समाजवादी महिला संघ नेपालकी इञ्चार्ज दुर्गा शोबले महिलाको हक, अधिकार स्थापित गर्नका लागि भरपर्दो संगठन समाजवादी पार्टी भएको दाबी गर्नुभयो । पार्टीकी केन्द्रीय सदस्य एवं संघकी केन्द्रीय वरिष्ठ उपाध्यक्ष सिर्जना रिजालले समाजवादी पार्टीनिकट विभिन्न भ्रातृसंगठनहरूको समायोजन अन्तिम चरणमा पुगेको भन्दै अब समायोजित महिला संगठनले महिलाको अधिकारका लागि नेतृत्वदायी भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
पार्टीका गण्डकी प्रदेश इञ्चार्ज गणेशमान गुरुङले पूराना पार्टीहरूको एक मात्र विकल्प समाजवादी पार्टी भएको दाबी गर्दै समाजवादी अभियानमा समाहित हुन सम्पूर्ण महिलाहरूलाई अपिल गर्नुभयो । त्यस्तै, पार्टीका गण्डकी प्रदेश अध्यक्ष मोती रिजालले महिला संगठनको समायोजनले अब गण्डकी प्रदेशमा महिला आन्दोलनले गति लिने जनाउँदै समाजवादी पार्टीलाई मजबुत बनाउन महिलाहरूको महत्वपूर्ण भूमिका हुने भनाइ राख्नुभयो ।
समाजवादी महिला संघ नेपालकी केन्द्रीय सचिव मञ्जु थापामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन समाजवादी पार्टी, गण्डकी प्रदेशकी उपाध्यक्ष काशीमाया गुरुङ र समाजवादी महिला संघ नेपालकी केन्द्रीय सदस्य सुस्मिता थापामगरले स्वागत गर्नुभएको थियो ।

Advertisment