गृहमन्त्री बादल र बेलायती राजदूतबीच भेटवार्ता

काठमाडौं, २५ मंसिर
गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपालका लागि संयुक्त अधिराज्य (बेलायत)की नवनियुक्त राजदूत निकोला पोल्लिटले बुधबार शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
गृह मन्त्रालयमा भएको भेटमा नेपाल–बेलायतबीचको ऐतिहासिक द्विपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा केन्द्रित रहेर छलफल भएको थियो । भेटमा गृहमन्त्री बादलले बेलायतबाट नेपालका लागि पहिलो महिला राजदूतको रुपमा नियुक्त भएकामा राजदूत निकोलालाई बधाई तथा सफल कार्यकालको शुुभकामना दिँदै उहाँको कार्यकालमा दुई देशको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले बेलायतमा बसोबास गरिरहेका नेपाली र ब्रिटिश गोर्खाका केही समस्या रहेको बताउँदै समस्या समाधानका लागि भूमिका खेलिदिन राजदूत निकोलालाई आग्रह गर्नुभयो । राजदूत निकोलाले बेलायतमा बस्ने नेपाली र ब्रिटिश गोर्खाका समस्याबारे आफूहरू गम्भीर रहेको बताउँदै अहिले धेरै समस्या समाधान भइसकेको बताउनुभयो ।

Advertisment