गण्डकी प्रदेश प्रमुख शेरचनलाई तिब्बत भ्रमणको निम्तो

पोखरा, १७ मंसिर
नेपाल भ्रमणमा रहनुभएका चीनको तिब्बत जनसरकारका अध्यक्ष क्वीजालाले गण्डकी प्रदेश प्रमुख अमिक शेरचनसँग मंगलबार भेटवार्ता गर्नुभएको छ । भेटवार्ताका क्रममा अध्यक्ष क्वीजालाले प्रदेश प्रमुख शेरचनलाई तिब्बत भ्रमणको निम्तो समेत दिनुभएको छ ।
अध्यक्ष क्वीजालाले प्रदेश प्रमुख शेरचनसँग नेपालको एक चीन नीतिप्रति विशेष चासो व्यक्त गर्नुभएको छ । नेपालमा चीन विरोधी गतिविधि नहोस् भन्नेमा चीन र तिब्बत जनसरकार सचेत रहेको बताउँदै क्वीजालाले सन् २०२० को नेपाल भ्रमण वर्ष सफल बनाउन चिनियाँ नागरिकलाई नेपाल भ्रमणका लागि पठाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
त्यस्तै, क्वीजालाले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएपछि ल्हासा–पोखरा सीधा उडान सुरु गर्ने र नेपालको विकासमा निरन्तर सहयोग रहने प्रतिबद्धता पनि जनाउनुभयो । गण्डकी प्रदेशका तर्फबाट प्रदेश प्रमुख शेरचनले नेपालको विकासमा चीनले पु¥याएको सहयोगको योगदानका लागि विशेष धन्यवाद दिनुभयो । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललगायतका महत्वपूर्ण विकास आयोजनाहरू अघि बढाउन चीनले गरेको सहयोग प्रशंसनीय रहेको भन्दै प्रदेश प्रमुख शेरचनले आगामी दिनमा सहयोगको निरन्तरता रहने अपेक्षा गर्नुभयो । साथै, शेरचनले अनुकूल समयमा आफूले तिब्बत भ्रमण गर्ने वचन समेत दिनुभयो ।
तिब्बत जनसरकारका अध्यक्ष क्वीजालाको नेतृत्वमा १६ सदस्यीय चिनियाँ टोली नेपाल भ्रमणमा आएको हो । गण्डकी प्रदेशको भ्रमणका क्रममा तिब्बत जनसरकार अध्यक्षले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । अध्यक्ष क्वीजालाको सम्मानमा मुख्यमन्त्री गुरुङले मंगलबार रात्रीभोजको आयोजना समेत गर्नुभएको छ ।
भेटवार्ताका क्रममा तिब्बत जनसरकार अध्यक्ष क्वीजाला र प्रदेश प्रमुख शेरचनले नेपाल–चीन दौत्य सम्बन्ध कायम भएको समययताको सम्बन्धबारे विशेष स्मरण गर्नुभएको थियो । क्वीजालाले पोखराको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयको अवलोकन गर्ने कार्यक्रम समेत रहेको छ । भ्रमण टोलीमा अध्यक्ष क्वीजालासहित तिब्बत जनसरकारका महासचिव झु कियाङलगायत रहेका छन् ।

Advertisment