आमसञ्चार प्रतिष्ठान बनाउने तयारी भइरहेको छ ः कानून मन्त्री सोनाम

बुटवल, १६ मंसिर
प्रदेश नं. ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी “सोनाम”ले प्रदेशमा आमसञ्चार प्रतिष्ठान बनाउने तयारी भइरहेको बताउनुभएको छ ।
प्रदेश भित्रका सञ्चार माध्यमलाई व्यवस्थित तथा नियमन गर्ने र मिडियाकर्मीलाई दक्ष बनाउने गरी राज्यकै अंगकै रुपमा सञ्चार प्रतिष्ठान निर्माण गर्न लागेको जानकारी दिनुभएको हो ।
सञ्चारिका समूह लुम्बिनीले सोमबार बुटवलमा गरेको सञ्चार संस्थामा लैङ्गिक नीति बिषयक अन्तरक्रियालाइ सम्बोधन गर्दै मन्त्री केसीले सरकारले बनाउने ऐन, नियम नीति बनाउने र त्यो दबावका निम्ति नभइ पर्याप्त छलफलकै आधारमा व्यवहारिक बनाउने समेत बताउनुभयो । ‘हामी मिडियासँग सहकार्य गर्न चाहन्छौं, तपाइहरू हामीलाइ सहयोग गर्नुहोस्,’ उहाँले भन्नुभयो ।
मन्त्री सोनामले प्रदेशका निजी क्षेत्रले चलाएका मिडियालाई पनि सम्मान गर्ने,कार्यसम्पादनको मूल्याङ्कन गर्ने, गुणस्तर वृद्धि र पत्रकारको क्षमता बढाउन पहल गर्ने समेत बताउनुभयो । सञ्चार संस्थामा लैङ्गिक नीति नहुँदा महिलालाइ रोजगारीमा समस्या, उचित पारिश्रमिक नहुनु, कार्यस्थलमा यौनजन्य हिंसा हुने गरेको कार्यपत्र प्रस्तोता अमृता अनमोलको भनाइ छ ।
मुख्यमन्त्री शंकर पोखरेलका प्रेस सल्लाहकार शेरबहादुर केसीले संबिधानको कार्यान्वयनका लागि पनि मिडियाले लैंगिक नीति बनाएर लागु गर्नुपर्ने बताउनुभयो । सञ्चार संस्थामा लैंगिक नीति बनाएर सबैलाइ समान अबसर दिनुपर्ने सञ्चारिका समूह लुम्बिनीका अध्यक्ष निरु गौतमले बताउनुभयो ।
यसअघि, प्रदेश ५ मा सूचना तथा प्रविधि प्रतिष्ठान गठन भैसकेको छ । सूचना तथा सञ्चार प्रविधिसम्बन्धी गुरुयोजना तर्जुमा गर्न, पुनरावलोकन गर्न, परिमार्जन तथा कार्यान्वयन गर्न प्रदेश सरकारलाई आवश्यक सिफारिस गर्ने, सूचना तथा सञ्चार प्रविधिसम्बन्धी नीति तथा कार्यक्रम तयार गर्न र सोको कार्यान्वयनका लागि प्रदेश सरकारलाई सहयोग गर्ने, प्रदेश सरकारका सूचना प्रविधिसम्बन्धी कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक निर्देशन दिने, अनुगमन गर्ने, गराउने जस्ता काम, कर्तव्य र अधिकार प्रतिष्ठानलाई छ ।

Advertisment