पोखरामा नेकपाको विजय सभा, विद्या भट्टराईलाई मन्त्री बनेको हेर्न चाहन्छौं ः मुख्यमन्त्री गुरुङ

पोखरा, १६ मंसिर
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की उम्मेदवार विद्या भट्टराई अधिकारी कास्की–२ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा विजयी भएपछि नेकपा, कास्कीले पोखरामा विजय सभा सम्पन्न गरेको छ ।
विजय सभालाई सम्बोधन गर्दै नेकपाका स्थायी समिति सदस्य एवं गण्डकी प्रदेशका इञ्चार्ज तथा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कस्केली जनताले विद्या भट्टराईलाई जिताएर पठाएकोमा धन्यवाद दिनुभयो । विद्या भट्टराईको विजय पार्टी एकताको औचित्य साबित गर्न सफल भएको भन्दै मुख्यमन्त्री गुरुङले पार्टी एकढिक्का छ भन्ने प्रमाणित भएको उल्लेख गर्नुभयो ।
कास्की–२ सहित गण्डकी प्रदेशमा भएका पाँचै ठाउँको उपनिर्वाचनमा नेकपा र वामपन्थीलाई सफलता मिलेको भन्दै उहाँले यसबापत पार्टीको गण्डकी प्रदेश र कास्की जिल्लालाई केन्द्रीय समितिले पुरस्कृत गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । मुख्यमन्त्री गुरुङले भन्नुभयो, “त्यो पुरस्कार भनेको के हो भने केन्द्रीय समितिले अब विद्या भट्टराईलाई मन्त्री बनाको हेर्न चाहन्छौं, प्रतिनिधिसभा सांसद् बन्नु भनेको मन्त्रीका लागि योग्य हुनु हो ।” गण्डकी प्रदेश र कास्की जिल्लाको सन्देशलाई आफूले पार्टीका अध्यक्षद्वय र केन्द्रीय नेताहरूसमक्ष पु¥याउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
नेकपाको सरकारले अघि सारेका एजेण्डा सही छन् भन्ने उपनिर्वाचनले पुष्टि गरेको भन्दै मुख्यमन्त्री गुरुङले नेकपा र सरकारका बारेमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसले बकवास मात्रै गरेको छ भन्ने प्रमाणित भएको जिकिर गर्नुभयो । भक्तपुर, धरान र चितवनमा नेकपा पराजित हुनुले गतिलो पाठ सिकाएको भन्दै उम्मेदवार चयनमा नेताहरूले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।


कास्की–२ बाट विजयी उम्मेदवार विद्या भट्टराई अधिकारीले आफ्नो जित समग्र नेकपा र कस्केली जनताको जित भएको बताउनुभयो । पीडाका बीचबाट आफूले चुनाव जितेको भन्दै उहाँले विपक्षीका अनेकन भ्रमहरू नेकपाको विजयले चिरिएको दाबी गर्नुभयो । जनताको अपार विश्वासलाई सधैं साथमा लिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै भट्टराईले देशको समृद्धिको अभियानमा आफू सक्रियताका साथ लाग्ने उल्लेख गर्नुभयो ।
समृद्ध पोखरा बनाउनका लागि राष्ट्रिय गौरवका आयोजनाहरू अघि बढाउन आफूले पहल गर्ने भन्दै उहाँले भूमिहीनलाई एक वर्षभित्रमा लालपुर्जा दिलाउने प्रण गर्नुभयो । समृद्धिका लागि शिक्षा र स्वास्थ्य क्षेत्रको विकास, अन्तर्राष्ट्रिय विमानस्थल, अन्तर्राष्ट्रियस्तरको रंगशाला, अन्तर्राष्ट्रिय नाकासम्म जोड्ने सडकसञ्जाल विस्तारका लागि आफू लाग्ने भन्दै भट्टराईले पोखराको पर्यटकीय सौन्दर्यता बढाउन आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेकपाका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका सह–इञ्चार्ज खगराज अधिकारीले विद्या भट्टराईको विजयले पार्टी एकतालाई अनुमोदन गरेको बताउनुभयो । सरकारले गरेका कामको समेत अनुमोदन भएको भन्दै नेता अधिकारीले भट्टराईको विजय वास्तवमै सम्पूर्ण महिलाहरूको विजय भएको दाबी गर्नुभयो । अध्यक्ष हितराज पाण्डे “उत्तम”ले जनताको मतलाई खेर जान नदिन पार्टीले नेतृत्वदायी भूमिका खेल्ने बताउनुभयो । कास्की–२ मा विद्या भट्टराईको शानदार विजयले नेकपाको एकताबद्ध भूमिकालाई प्रमाणित गरेको अध्यक्ष उत्तमले बताउनुभयो ।
नेकपाका केन्द्रीय सदस्य एवं कास्कीका इञ्चार्ज राजकाजी गुरुङ “करण”ले नेकपाको वैचारिक स्पष्टता, प्रभावकारी कार्यकर्ता परिचालन र आक्रामक प्रचारका माध्यमबाट उपनिर्वाचनमा नेकपाले विजय हासिल गरेको बताउनुभयो । उपनिर्वाचनले नेकपाको पक्षमा जनमत कायमै छ भन्ने प्रमाणित गरेको जिकिर गर्दै नेता करणले विजयलाई उन्मादका रुपमा नलिएको प्रष्ट पार्नुभयो । देशलाई समृद्ध बनाउने अभियानमा सबै दल एकजुट हुनुपर्नेमा समेत नेता करणले जोड दिनुभयो ।
नेकपा, कास्कीका अध्यक्ष कृष्ण थापाले कास्की–२ मा विद्या भट्टराईको विजय लोकतन्त्रवादीको जित र अतिवादीको पराजय भएको बताउनुभयो । विजय सभामा नेकपा, कास्कीका सचिव बखानसिंह गुरुङ “आभास”ले पनि बोल्नुभएको थियो ।
कास्की–२ को उपनिर्वाचनमा नेकपाकी उम्मेदवार विद्या भट्टराई अधिकारीले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेललाई ८ हजार ४ सय ३ मतको फराकिलो अन्तरले पराजित गर्नुभएको हो । विजयी उम्मेदवार भट्टराईले २४ हजार ३ सय ९५ र पराजित उम्मेदवार पौडेलले १५ हजार ९ सय ८६ मत प्राप्त गर्नुभएको थियो ।

Advertisment