कास्की–२ को उपनिर्वाचनमा नेकपा उम्मेदवार भट्टराई निर्वाचित

पोखरा, १५ मंसिर
प्रतिनिधिसभा सदस्यका लागि भएको बहुप्रतीक्षित कास्की क्षेत्र नं. २ उपनिर्वाचनमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की उम्मेदवार विद्या भट्टराई अधिकारी निर्वाचित हुनुभएको छ ।
आइतबार साँझ सकिएको मतगणनाको अन्तिम मत परिणाम अनुसार २४ हजार ३ सय ९४ मतका साथ उम्मेदवार भट्टराई निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले १५ हजार ९ सय ११ मत प्राप्त गर्नुभयो । नेकपा उम्मेदवार भट्टराईले कांग्रेस उम्मेदवार पौडेललाई ८ हजार ४ सय ३ मतान्तरले पराजित गर्नुभयो । त्यस्तै, तेस्रो स्थानमा १ हजार ९ सय २२ मत प्राप्त गरेर सत्तारुढ समाजवादी पार्टीका उम्मेदवार ई. धर्मराज गुरुङ रहनुभयो ।
त्यसैगरी, उपनिर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार रोमबहादुर भण्डारीले १ हजार १ सय ५३ मत प्राप्त गर्दा साझा पार्टीकी उम्मेदवार रजनी केसीले ९ सय ४२ मत प्राप्त गर्नुभयो । मंगोल नेशनल अर्गनाइजेशनका उम्मेदवार रियाज गुरुङले १ सय ३८, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)की उम्मेदवार गंगा मल्लले ९५, विवेकशील नेपाली दलकी उम्मेदवार जमुना शर्माले ७७, स्वतन्त्र उम्मेदवार कमलजंग कुँवरले ६१, नेकपा (माले)का उम्मेदवार टेकनाथ भण्डारीले ५१, राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार पूर्णबहादुर रानाले ३५, नेपाली कांग्रेस (वीपी)का उम्मेदवार चन्द्रबहादुर रानाभाटले २८ प्राप्त गर्नुभयो ।
शनिबार भएको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार नवराज बाँस्तोलाले १८, वीरबहादुर विश्वकर्माले ११, सुनिलबहादुर कोइरालाले ११, दीपक रेग्मीले ५, सुनिल भुसालले ४, लक्ष्मीकुमारी भुजेलले ४, रनबहादुर दमैले ४, यज्ञप्रसाद पंगेनीले १ र उमनाथ गौतमले १ मत प्राप्त गर्नुभएको छ । कास्की–२ को उपनिर्वाचनमा ६३.४० प्रतिशत मत खसेको थियो ।

Advertisment