फोनिज, गण्डकी प्रदेशद्वारा पत्रकार गुरुङको रिहाइको माग

पोखरा, १२ मंसिर
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकी प्रदेशले पत्रकार आश गुरुङलाई पक्राउ गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
राजनीति डटकममा कार्यरत पत्रकार आश गुरुङलाई मिति २०७६ मंसिर ९ गते सोमबार, पोखराको रामबजारस्थित निवासबाट पक्राउ गरी सार्वजनिक अपराध (अभद्र व्यवहार)को मुद्दा लगाइ वडा प्रहरी कार्यालय, रामबजारमा राखिएको छ । फोनिज, गण्डकी प्रदेशका महासचिव रूद्रबहादुर श्रीसले एक विज्ञप्ति जारी गर्दै पत्रकार गुरुङको तत्काल रिहाइको माग गर्नुभएको छ । विज्ञप्तिमा आशंकाका भरमा पत्रकारमाथि हुने धरपकडप्रति कडा आपत्ति जनाउँदै पत्रकार गुरुङको यथाशीघ्र रिहाइको माग गरिएको छ ।
साथै, सो विज्ञप्तिमा पत्रकारहरूको भौतिक सुरक्षाको प्रत्याभूति प्रदान गरी निर्बाध समाचार संकलन र सम्प्रेषणको वातावरण बनाउन तथा पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चितता गर्न नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकी प्रदेश स्थानीय प्रशासनसमक्ष जोडदार माग समेत गरिएको छ ।

Advertisment