हामी सिद्धान्तमा अडिग छौं ः राप्रपा वरिष्ठ नेता बोहरा

पोखरा, ११ मंसिर
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कास्की क्षेत्र नं. २ को बृहत चुनावी आमसभा सम्पन्न भएको छ । चुनावी आमसभामा बोल्दै प्रमुख अतिथि वरिष्ठ नेता तथा पूर्व मन्त्री दीपक बोहराले जनतालाई सही व्यक्ति रोज्ने अवसर आएको बताउनुभएको छ ।
बुधबार पोखराको लखनचोकमा भएको चुनावी आमसभालाई सम्बोधन गर्दै नेता बोहराले उम्मेदवार रोमबहादुर भण्डारी जत्तिको निष्ठावान व्यक्तित्व नेपाली राजनीतिमा कहिल्यै नपाइने बताउनुभयो । कार्यक्रममा बोल्दै वरिष्ठ नेता बोहराले विश्वमा धर्म परिवर्तन गर्ने मध्ये नेपाल पहिलो भएको बताउँदै सबै धर्मलाई समान दृष्टिकोणले हेरी नेपाललाई सनातन हिन्दु राष्ट्र कायम गरिनुपर्ने बताउनुभयो । “त्यसको लागि राप्रपा सधै लडिरहन्छौं” उहाँले भन्नुभयो “हामी सिद्धान्तमा अडिग छौं, सिद्धान्तलाई स्थापित गराउन राप्रपालाई मत दिइ जिताउनुपर्छ ।”
आसमभामा बोल्दै पार्टीका महामन्त्री तथा प्रतिनिधिसभा सांसद् राजेन्द्र लिङ्देनले म लिम्बूको छोरा भएर पनि हिन्दू राष्ट्र बताउनुपर्छ भन्दै हिँडेको छु, बाहुन, क्षेत्री कता हुनुहुन्छ, अब देशलाई हिन्दू राष्ट्र कायम गर्न कम्मर कसौं भन्दै गाई चिन्हमा मतदान गरी रोमबहादुर भण्डारीलाई जिताउन आग्रह समेत गर्नुभयो । यो उपनिर्वाचनले सरकारको आँखा खोल्नकै लागि भए पनि राप्रपालार्य मत दिन आग्रह गर्नुभएको जानकारी पार्टीका प्रचार प्रसार संयोजक सूर्य बाँस्तोलाले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रदेश अध्यक्ष हेमजंग गुरुङ, राष्ट्रवादी उम्मेदवार रोमबहादुर भण्डारी, सहायक महामन्त्री विन्दु पहाडी, विश्व हिन्दु महासंघका गण्डकी प्रदेश संयोजक शंकर खराल, केन्द्रीय सदस्य मेघ अधिकारी, राप्रपा महिला संगठन केन्द्रीय सदस्य ईश्वरी वैरागी, राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका जिल्ला अध्यक्ष विजयबाबु भण्डारीलगायतले गाई चिन्हमा मतदान गरी उम्मेदवार भण्डारीलाई जिताउन आग्रह गर्नुभयो ।
सो अवसरमा नेकपा र नेपाली कांग्रेस परित्याग गरी सयौंको संख्यामा राप्रपामा प्रवेश गरेका छन् । नवप्रवेशी युवाहरुलार्य प्रमुख अतिथि बोहरा, महामन्त्री लिङ्देन, प्रदेश अध्यक्ष गुरुङले फूलमाला, अविर लगाएर स्वागत गरेका थिए ।
जिल्ला अध्यक्ष डा. महेन्द्रबहादुर कार्कीको स्वागत मन्तव्यको अध्यक्षता, निर्वाचन परिचालन संयोजक तथा केन्द्रीय सदस्य जयलाल पुन, सञ्चालन केन्द्रीय सदस्य तथा प्रदेश सचिव बरुणविक्रम राणाले गर्नुभएको थियो ।
आमसभा हुनु अगाडि बृहत मोटरसाइकल ¥यालीले पोखराका विभिन्न स्थानहरूमा ¥याली समेत गरेको प्रचारप्रसार सहसंयोजक प्रकाश सापकोटाले जानकारी दिनुभयो ।

Advertisment