नवनिर्वाचित प्रतिष्ठानका पदाधिकारी र सदस्यलाई मगर सांस्कृतिक संघ, कास्कीको बधाई

पोखरा, ९ मंसिर
हालै पोखरामा सम्पन्न राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको सातौं केन्द्रीय महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई नेपाल मगर सांस्कृतिक संघ, कास्कीले बधाई ज्ञापन गरेको छ ।
सोमबार आयोजित कार्यक्रममा संघले प्रतिष्ठानको नेतृत्वलाई बधाई ज्ञापनसँगै सफल कार्यकालको शुभकामना दिएको हो । सो अवसरमा प्रतिष्ठानका नवनिर्वाचित केन्द्रीय सचिव जीवन दाहाल, केन्द्रीय सदस्यहरू देवी घर्तीमगर, जुना श्रीसमगर, सरला पाण्डे, युवराज मगर र तारानाथ आचार्यलाई बधाई ज्ञापन गरिएको हो ।
कार्यक्रममा संघका कास्की जिल्ला अध्यक्ष सरिता सारूमगर, सल्लाहकार एवं म्यूजिक भिडियो निर्देशक तथा सर्जक गोविन्द पुनमगर र अर्का सल्लाहकार एवं नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकी प्रदेशका महासचिव रूद्रबहादुर श्रीसमगरले टीका, दोसल्ला र बुकेद्वारा बधाई ज्ञापनसँगै सम्मान गर्नुभयो ।
बधाई ग्रहण पछि बोल्दै प्रतिष्ठानका नवनिर्वाचित केन्द्रीय सचिव दाहालले मगर सांस्कृतिक संघसँग प्रतिष्ठानले सहकार्य गरेर अघि बढ्ने बताउनुभयो । नेपाली मौलिक लोकसंस्कृतिको संरक्षणका लागि संघसँग प्रतिष्ठानले सहकार्य गर्ने बताउँदै दाहालले संघले बधाई र सम्मान दिएकोमा खुशी लागेको बताउनुभयो । सो अवसरमा केन्द्रीय सदस्यहरूले पनि बोलेका थिए ।
संघका कास्की सल्लाहकार गोविन्द पुनमगरले लोक संगीतमा देखिएको विकृति र विसंगति हटाउन प्रतिष्ठानले पहल गर्नुपर्ने सुझाव दिँदै नेपाली लोकगीतको मौलिकता हराउँदै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो । मौलिकता बचाउन सके मात्र नेपाली लोकसंस्कृतिको अस्तित्व रहने भन्दै पुनमगरले प्रतिष्ठानले सबैलाई समेटेर अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।
नेपाल मगर सांस्कृतिक संघ, कास्कीकी अध्यक्ष सरिता सारूमगरको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सुरज थापामगर र कोषाध्यक्ष वसन्ती थापामगरले पनि बोल्नुभएको थियो ।

Advertisment