कास्कीको उपचुनाव २४ सय मतान्तरले जित्छौं ः कांग्रेस प्रवक्ता शर्मा

पोखरा, ९ मंसिर
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कास्की–२ को चुनाव २ हजार ४०० मत अन्तरले कांग्रेसले जित्ने दावी गर्नुभएको छ । चुनावी प्रचारका लागि आइतबार पोखरा आएका प्रवक्ता शर्माले नेपाल प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो दावी गर्नुभएको हो ।
‘सबै प्रकारले हेर्दा २ हजार ४०० मतले हामी चुनाव जित्छौं । यो निकै तीव्र प्रतिस्पर्धी मत भएकाले यसलाई बढाउन प्रयत्नशील छौं । म पनि पोखरा आइपुगेको छु’, उहाँले भन्नुभयो ।
प्रवक्ता शर्माले कास्कीको चुनाव जित्ने आधार समेत प्रस्तुत गर्नुभयो । ‘जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह, कम्युनिष्टले विगतमा बाँडेका सपना पूरा हुन नसकेको, कम्युनिष्ट सरकारले गरेका गलत काम सच्याउने अवसर, निष्ठावान र लोकप्रिय उम्मेदवार, कांग्रेसका नेताहरूको बीचमा एकता, कास्कीबाट देशलाई दिने सन्देश नै कांग्रेसले चुनाव जित्ने मुख्य आधार हुन्’, उहाँले भन्नुभयो ।
यसै प्रसंगमा प्रवक्ता शर्माले मान्छे बुढो हुँदैमा सांसद बन्न नपाउने भन्ने नभएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘डोनाल्ड ट्रम्प ७० वर्षको उमेरमा अमेरिकाको राष्ट्रपति बन्नुभयो । प्रधानमन्त्री ओली पनि ७० वर्ष आसपासमै हुनुहुन्छ ।’ उम्मेदवार खेमराज पौडेलको उमेरको सवाल भन्दा उहाँले दिने सन्देश महत्वपूर्ण हुने उनले स्पष्ट पारे । आफू चुनाव प्रचार अभियानमा लाग्दै गर्दा दशैभर कांग्रेसको पक्षमा लहर आएको समेत उहाँले दावी गर्नुभयो ।
उहाँले राष्ट्रिय एकताका विषयमा आन्तरिक झगडा होइन, सबै एकैठाउँमा उभिएर समस्या समाधानतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो । ‘यो हाम्रा लागि ऐतिहासिक अवसर हो । सरकारले यथाशीघ्र कुटनीतिक र उच्चस्तरीय राजनीतिक पहल गर्नुपर्छ । यसमा प्रधानमन्त्री ओलीको अग्रसरता आवश्यक छ’, उहाँले भन्नुभयो ।
उहाँले सरकार र कम्युनिष्ट पार्टीका नेताहरूले सीमा विवादको जवाफ कांग्रेस पार्टीका सभापति शेरबहादुर देउवासंग होइन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसंग माग्नुपर्ने बताउनुभयो । उहाँले भारतले आफ्नो नक्सा सार्वजनिक गरिरहेको अवस्थामा नेपालले पनि छिटो भन्दा छिटो आफ्नो आधिकारिक नक्सा सार्वजनिक गर्नेुपर्ने खाँचो औंल्याउनुभयो । शर्माले लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेटेर ३ दिनभित्र नेपालको नक्सा सार्वजनिक गर्न सरकारसँग आग्रह समेत गर्नुभयो ।
उहाँले सरकारले नक्सा छापेर सार्वजनिक गर्न सक्दैन भने त्यो कामका लागि काँग्रेस तयार रहेको बताउनुभयो । प्रधानमन्त्रीले बालुवाटारमा बोलाएको सर्वदलीय बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले भारतले जारी गरेको विवादित नक्सा सच्याउन तत्काल पहल गर्न भनेको भए पनि सरकार ठोस रूपमा अघि बढेन उहाँकोे भनाइ थियो ।
भारतले प्रधानमन्त्री ओलीको सहमतिमा नक्सा जारी गरेको भनेर कांग्रेस सभापतिले आशङ्का मात्र व्यक्त गरेको बताउँदै उहाँले यस सम्बन्धमा सरकार र नेकपाका नेताले जवाफ दिनुभन्दा भारतसँग छिटो वार्ता गर्नुपर्नेमा जोड दिनुभयो । सबै राजनीतिक दलले पटकपटक भारतसँग छिटो वार्ता गर्न भने पनि प्रधानमन्त्रीले त्यसको बेवास्ता गरेका कारण आशङ्का गरिएको उहाँले बताउनुभयो ।
उहाँले सीमाको सवालमा सत्तापक्ष, प्रतिपक्ष र जनता सबै एकठाउँमा आएको अवस्थामा समस्या समाधान गर्नमा ढिलाई गर्न नहुने बताउनुभयो । उहाँले सीमा समस्या समाधान नभएसम्म कांग्रेसले खबरदारी गरिरहने स्पष्ट पार्नुभयो ।
पार्टीले जिम्मेवार प्रतिपक्षका रूपमा भूमिका निर्वाह गरिरहेको बताउँदै प्रवक्ता शर्माले सरकार गठनको यस अवधिमा महंगी, हत्या, हिंसा, भ्रष्टाचार एवं बलात्कारजन्य घटना दिनानुदिन बढिरहेको आरोप लगाउनुभयो । भ्रष्टाचार छानबिन गर्न संसदीय समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता निकायको बेवास्ता गरी सरकार आफैँले छानबिन समिति बनाएको उहाँले बताउनुभयो ।
कांग्रेस प्रवक्ता शर्माले पूर्व पर्यटन मन्त्री रवीन्द्र अधिकारीको निधनसंगै आफूले घनिष्ट मित्र गुमाउन पुगेको बताउनुभयो । आफू नेविसंघ र रवीन्द्र अनेरास्ववियुको अध्यक्ष बनेर संगगंगै सहकार्य गरेर अघि बढेको स्मरण गर्नुभयो ।
‘रवीन्द्र अधिकारी एउटा इमान्दार गणतन्त्रवादी नेता हो, वंशवादी होइनन् । उनी वंशवादमा पनि विश्वास गर्दैनन् र एउटा मान्छे, एउटै जीवनमा एकैसाथ गणतन्त्रवादी र वंशवादी हुन सक्दैनन्’, उहाँले भन्नुभयो । उहाँले उम्मेदवार विद्याले स्व. रवीन्द्रको उत्तराधिकारी भनेर आफूलाई प्रस्तुत गर्न नमिल्ने टिप्पणी गर्नुभयो ।

Advertisment