लोक तथा दोहोरी प्रतिष्ठानमा रमेश बिजी विजयी, कडा टक्करबीच विष्णु खत्रीको अर्को हार

पोखरा, ९ मंसिर
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, नेपालको सातौं केन्द्रीय महाधिवेशनबाट अध्यक्ष पदमा रमेश बिजी निर्वाचित हुनुभएको छ । बिजी यसअघि, वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो ।
मंसिर ६ देखि पोखरामा सुरु महाधिवेशन मतपरिणाम सार्वजनिकसँगै आइतबार राती सकिएको हो । बिजी ५८४ मतका साथ अर्का प्रत्यासी विष्णु खत्रीलाई ३९ मतान्तरले जित्दै विजयी बन्नुभएको हो । अध्यक्षका प्रत्यासी खत्रीले ५४५ मत प्राप्त गर्नुभएको थियो । यसअघि, छैठौं महाधिवेशनमा खत्री बद्री पंगेनीसँग पराजित हुनुभएको थियो । १३४८ कुल मतदाताहरूमा ११३८ मत खसेको थियो ।
यस्तै, कोषाध्यक्ष पदका लागि भएको निर्वाचनमा राजु ढकालले ७३७ मत ल्याएर विजयी बन्नुभयो । उहाँले तारापति सुवेदीलाई हराउनुभएको हो । सुवेदीको ३७२ मत आएको थियो । सह—कोषाध्यक्ष पदमा ईश्वरीप्रसाद भुसाल ‘मादले दाई’ ६८० मत ल्याएर विजयी बन्नुभएको छ । उहाँले प्रतिस्पर्धी घनश्याम रिजाललाई भारी मतान्तरले पराजित गर्नुभएको हो ।
प्रशासनिक सचिव पदमा कृष्ण रेउले विजयी बन्नुभएको छ । रेउलेको ८४६ मत आउँदा निकटतम प्रतिस्पर्धी पुरुषोत्तम थापाको २४५ मत खसेको थियो । प्रतिष्ठानको सचिव खुल्ला पदका लागि सात जनामध्ये जीवन दाहाल (७८०), रमेशराज भट्टराई (७३३), कुलेन्द्र विश्वकर्मा (६७७), हरि डाँगी (६२६), प्रचण्ड जिसी (६०६), वसन्त थापा (५९०), पुष्कल शर्मा (५७३) विजयी हुनुभएको छ । उक्त पदमा १३ जनाबीच प्रतिस्पर्धा भएको थियो ।
केन्द्रीय सदस्य (महिला) तर्फ सात जनामा सम्झना लामिछाने मगर (९१२), जानकी तारामी मगर (८६६), अञ्जली अधिकारी (८१०), जुना श्रीस मगर (७९८), अमृता लुङ्गेली मगर (७६१), सरला पाण्डे (७३६), सीता रानामगर (६३२) विजयी हुनुभयो । महिला सदस्यमा १० जनाबीच प्रतिस्पर्धा भएको थियो ।
खुला केन्द्रीय सदस्यतर्फ सबैभन्दा बढी मत प्राप्त गर्दै गायिका देवी घर्तीमगर विजयी हुनुभएको छ । उहाँले निर्वाचनमा उठेका सबैभन्दा अधिक १०१४ मत ल्याएर विजयी भएकी हुन् । यस्तै, उक्त पदका लागि विजयी हुनेहरूमा पी.एन. सापकोटा (८७१), प्रकाश सपुत (७८५), पुरुषोत्तम भण्डारी ‘पुर्खे बा’ (७७९), प्रकाश भट्ट (७५४), याम क्षेत्री (७३१), विमल अधिकारी (७२३), महेन्द्र गौतम (६९९), दीपक गरांैजामगर (६३०ं), सागर गुरुङ (५६६), विक्रम थापा (५२८), युवराज मगर (५२५) रहनुभएको छ । २० जना प्रतिस्पर्धीहरूबीच उनीहरुको प्रतिस्पर्धा भएको थियो ।
यस्तै, केन्द्रीय सदस्य भूगोलतर्फ गण्डकी प्रदेशका तारानाथ आचार्य ३९७ मत ल्याएर विजयी हुनुभएको छ । उहाँले अक्कल विरही गुरुङ र सुरेन्द्र लामिछानेलाई पछाडि पार्नुभएको हो । केन्द्रीय सदस्य भूगोल सुदूरपश्चिमतर्फ नवीन धामी ५९३ मतका साथ विजयी बने । उहाँका निकटतम प्रतिस्पर्धी नरेन्द्र रावलको ४४७ मत आएको थियो । केन्द्रीय सदस्य विदेश शाखा अन्तर्गत रामकृष्ण बम मल्ल र दुर्गा पंगेनी विजयी बन्नुभयो । मल्लले ७६७ मत ल्याए भने पंगेनीले ५५८ मत ल्याएका थिए ।
वरिष्ठ उपाध्यक्षमा रीता थापामगर, प्रथम उपाध्यक्षमा पशुपति शर्मा, द्वितीय उपाध्यक्ष रामजी खाँड, महिला उपाध्यक्ष राधिका हमाल पुन, महासचिव सुवास केसी, उप—महासचिवद्वय शंकर बिसी र शिव हमाल, सांगठनिक सचिव खुमन अधिकारी, महिला सचिव जमुना रानामगर र सह—कोषाध्यक्ष महिलामा पूर्णकला बिसी यसअघि नै निर्विरोध विजयी हुनुभएको हो ।
महाधिवेशनमा जम्मा ८४.३४ प्रतिशत मत खसेको निर्वाचन समितिले बताएको छ । प्रतिष्ठानका गण्डकी प्रदेशको सम्पूर्ण व्यवस्थापनमा उक्त महाधिवेशन सम्पन्न भएको हो । सातौं महाधिवेशनका संयोजक बद्री पंगेनी र सह—संयोजक सुरेन्द्र गुरुङ रहनुभएको थियो ।

Advertisment