कास्कीमा सूर्य चिह्न र बागलुङमा गिलास चिह्नमा मतदान गर्न बागलुङ–पोखरा वामपन्थी मञ्चको अपिल

पोखरा, ६ मंसिर
बागलुङ–पोखरा वामपन्थी मञ्चले यही मंसिर १४ गतेको उपनिर्वाचनमा कास्की क्षेत्र नं. २ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की उम्मेदवार विद्या भट्टराई (अधिकारी) र बागलुङ क्षेत्र नं. २ (ख)मा राष्ट्रिय जनमोर्चा (राजमो)का उम्मेदवार खिमविक्रम शाहीलाई विजयी गराउन अपिल गरेको छ ।
मञ्चले शुक्रबार पोखरामा विशेष चुनावी सभाको आयोजना गरी कास्कीमा सूर्य चिह्नमा र बागलुङमा गिलास चिह्नमा मतदान गर्न अपिल गरेको हो । चुनावी सभामा बोल्ने नेताहरूले सत्तारुढ नेकपा र राजमोबीच उपनिर्वाचनमा चुनावी गठबन्धन बनेको भन्दै साझा वाम उम्मेदवारलाई विजयी गराउन वामपन्थीहरू जुट्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका नेता एवं गण्डकी प्रदेशसभाका सांसद् कृष्ण थापाले नेकपा र राजमोबीच भएको चुनावी गठबन्धनले आफूहरू उत्साहित भएको बताउनुभयो । दुवै पार्टीका उम्मेदवारलाई जिताउन तयारीमा जुट्न अपिल गर्दै नेता थापाले यस्ता कार्यक्रमले जनमत बढाउन सघाउ पु¥याउने धारणा समेत व्यक्त गर्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं कास्की जिल्ला सह–इञ्चार्ज शारदाप्रसाद सुवेदीले चुनावमा भएको कार्यगत एकतालाई पार्टी एकतासम्म पु¥याउनुपर्ने धारणा राख्नुभयो । स–साना समूहमा अझै पनि कैयन् कम्युनिष्ट पार्टीहरू रहेको भन्दै सबै कम्युनिष्ट पार्टी एकताबद्ध भएमात्र जनताका सपना पूरा गर्न सकिने बताउनुभयो ।
नेकपा नेतृ एवं गण्डकी प्रदेशसभाकी सांसद् सावित्रा रानाले अहिले कम्युनिष्ट सरकार आएपछि विकास, निर्माणको कामले गति लिएको भन्दै उपनिर्वाचन कम्युनिष्टले नै जित्ने तर, भारी मतान्तरले जित्नका लागि तयारी आवश्यक भएको बताउनुभयो । नेतृ रानाले नेकपा र राजमोबीच कार्यगत एकता हुँदै पार्टी एकतासम्म पुग्न आवश्यक भएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा मञ्चका अध्यक्ष कुलचन्द्र शर्माले कास्की क्षेत्र नं. २ र बागलुङ क्षेत्र नं. २ (ख)मा हुन लागेको उपनिर्वाचनमा वामपन्थी उम्मेदवारलाई विजयी गराउन मञ्चले आह्वान गरेको बताउनुभयो । सो अवसरमा राजमोका नेता दीपक गुरुङ, नेकपाका नेता अग्नि कँडेल, मञ्चका नेता विक्रम थापा र आकाश गौतमले पनि बोल्नुभएको थियो । दुई वर्ष अघि भएको संसदीय निर्वाचनका बेला गठन भएको बागलुङ–पोखरा वामपन्थी मञ्चमा बागलुङ जिल्लाबाट पोखरामा आइ बसोबास गर्ने विभिन्न कम्युनिष्ट पार्टी समर्थित बागलुङेहरू आबद्ध रहेका छन् ।

Advertisment