दोस्रो गलकोट घुम्टे महोत्सव सुरु, गृहमन्त्री बादल आएनन्

गलकोट, ५ मंसिर
पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले भारतले सिमा मिचेको खबर बाहिर आएपछि राष्ट्रियताको पक्षमा सवै एकजुट भएको सम्भवत पहिलो पटक भएको बताएउनुभएको छ ।
बागलुङको गलकोट नगरपालिका वडा नं. ५ बसाहाफाँटमा आयोजित दोस्रो गलकोट घुम्टे महोत्सवको उदघाट्न गर्दै केसीले राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डाको रक्षाको लागि पहिलो पटक, राजनैतिक दल, पत्रकार, र आम नागरिक एकैठाउँमा भएको बताउनुभयो । उहाले राष्ट्रियताको पक्षमा सवै नागरिक एक जुट हुनुपर्नेमा जोड दिनुभयो । उहाँले गलकोटमा इलाका प्रशासन कार्यालय स्थापनाको लागी नेपाल सरकार सकारात्मक रहेको बताउदै छिट्टै गलकोटमा इलाका प्रशासन कार्यालय स्थापना हुने बताउनुभयो ।
केसीले विदेशबाट आएको रेमिट्यान्सले गाउँमा बेसाएर खाएर समृद्धि नआउने बताउनुभयो । हामी यहाँबाट मान्छे निर्यात हैन उत्पादनलाई निर्यात गर्रौ केसीले भन्नुभयो, युवाहरुले यहाँ उत्पादन भएका बस्तुलाई विदेशमा पठाउने काम गर्नुपर्ने बताउदैं उत्पादनशिल काममा सबैजना लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले विगतमा देशमा राजनिति स्थिरता नहुँदा विकास हुन नसकेको हुँदा, अबको केही वर्षमा मुलुकको विकासले फड्को मार्ने बताउनुभयो ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष समेत रहेका केसीले भावी पुस्तालाई देश जस्ताको तस्तै सुम्पन अहिलेका पुस्ताको दायित्व भएको बताउनुभयो । उहाँले गलकोट क्षेत्रको विकासका निम्ती देश विदेशमा रहेका सवै नागरिकहरुले उत्पादनशिल क्षेत्रमा लगानी गर्नका निम्ती आग्रह गर्नुभयो ।
कार्यक्रममा पूर्व वनमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले गलकोट क्षेत्र पर्यटकीय सम्भावना बोकेको क्षेत्र रहेको हुँदा यहाँको विकासका निम्ति सबै राजनीतिक दलहरु एकै ठाउँमा हुनुपर्ने बताउनुभयो । उहाँले शहीद थिरबम मल्लको गाउँको विकासका निम्ति नेपाली कांग्रेसले सधैं सहयोग गर्न तयार रहेको बताउनुभयो ।
प्रतिनिधिसभा सदस्य ज्ञानकुमारी छन्त्यालले समृद्ध नेपाल सुखि नेपालि नारा कागजमा सिमित रहेको बताउदैं सबै तहका सरकारमिलेर कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । गण्डकी प्रदेशसभा सदस्य तथा नेकपा जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाले गलकोटको समृद्धिको लागि प्रदेश सरकारले सहकार्य गर्ने बताउनुभयो । गण्डकी प्रदेशसभा सदस्य चन्द्रबहादुर बुढा ‘सागर’ले गलकोटलाई समृद्ध बनाउन सकेमा गण्डकी प्रदेशकै समृद्ध बन्ने बताउनुभयो ।
जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुंगानाले जिल्लाको समग्र बिकास र पर्यटन प्रबद्र्धनको लागि सहकार्य गर्नुपर्ने बताउनुभयो । गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले सबै तहका सरकारबीच सहकार्य बिना समृद्धि कागजमा मात्रै सिमिति हुने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षत्री, ताराखोला गाउँपालिका अध्यक्ष प्रकाश घर्तीमगर, कांग्रेस सभापति दीपेन्द्रबहादुर थापा, राजमोका जिल्ला उपाध्यक्ष वेदीलाल सापकोटा, पत्रकार महासंघका अध्यक्ष दिल शिरीष, बागलुङ पर्यटन विकास समितिका महासचिव अर्जुन चोखाल, सामुदायिक सेवा केन्द्र गलकोटका अध्यक्ष मञ्जु शर्मा चालिसे लगायतले मन्तव्य राख्नु्भएको थियो ।
महोत्सवको उद्देश्यको बारेमा घुम्टे पर्यटन विकास केन्द्रका संस्थापक तथा सल्लाहकार यमबहादुर श्रीसले प्रष्ट पार्नुभएको थियो । पहिलो दिन महोत्सवको अवसरमा कृष्ण कँडेलको नेतृत्वमा रहेको इन्द्रेणी समूहको सांगीतिक प्रस्तुति साथमा विभिन्न झाँकीहरु, सरायँ नाच, लाखेनाचलगायतका कार्यक्रमहरू प्रस्तुत गरिएको थियो । महोत्सव यही मंसिर ११ गते सम्म सञ्चालन हुने छ । महोत्सवमा लोक दोहोरी गीत प्रतियोगिता, महिला भलिबल प्रतियोगिता, स्थानीय उत्पादनको प्रर्दशन एवं प्रवद्र्धन गर्नुका साथै विभिन्न सांस्कृतिक कार्यक्रमहरु संचालन गरिने आयोजकले जनाएको छ ।
कार्यक्रम घुम्टे पर्यटन विकास केन्द्रका अध्यक्ष झंकबहादुर बस्नेतको अध्यक्षता बरिष्ठ उपाध्यक्ष राजबहादुर थापाको स्वागत तथा केन्द्रका सचिव शेरबहादुर थापा, सांस्कृतिक संयोजक हिमबहादुर भण्डारी र पत्रकार राम थापा ‘अविरल’को सञ्चालनमा सम्पन्न भएको थियो ।
महोत्सवको उद्घाटन गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा ‘बादल’ आउने भनिएपनि आउनुभएन । मन्त्रिपरिषद् पुनर्गठनका कारण गृहमन्त्री बादल गलकोट नआएको गृहमन्त्रीनिकट स्रोतले जनाएको छ ।

Advertisment