जनसक्रिय टोल विकास संस्थाको निःशुल्क मधुमेह तथा टीजी परीक्षण शिविर

पोखरा, १ मंसिर
विश्व मधुमेह दिवसको अवसरमा जनसक्रिय टोल विकास संस्था, पोखरा–१४, कास्कीले एक दिने निःशुल्क मधुमेह तथा टीजी (रगतमा हुने खराब बोसो) परीक्षण शिविर सम्पन्न भएको छ ।
पोखरा रेफरेन्स ल्याबोरेटरी (पीआरएल)को प्राविधिक सहयोगमा आज सम्पन्न कार्यक्रममा १७४ जनाले आफ्नो मधुमेह तथा टीजीको परीक्षण गराएको संस्थाका अध्यक्ष डीबी राईले जानकारी दिनुभयो । सो अवसरमा अन्य रोगको समेत ४० प्रतिशत छुटमा परीक्षण गरिएको संस्थाका उपाध्यक्ष एवं पोखरा रेफरेन्स ल्याबोरेटरी (पीआरएल)का बजार निर्देशक डिल्लीप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
मधुमेह तथा टीजी परीक्षण शिविरको उद्घाटन गर्दै पोखरा–१४ का वडाध्यक्ष प्रेमबहादुर कार्कीले अहिलेको समयमा मधुमेह तथा टीजीको समस्या आम नेपालीहरूमा बढ्दै गएको बताउनुभयो । फेरिएको खानपान तथा आहारविहारको शैलीका कारण नसर्ने रोगहरू बढ्दै गएको उहाँको भनाइ थियो ।
कार्यक्रममा वडा सदस्य ढोलबहादुर गुरुङ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा), कास्कीका जिल्ला सदस्य खड्क विश्वकर्मा, शुक्रराज बलभद्र माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोमबहादुर कार्की, खाल्टे टोल विकास संस्थाका अध्यक्ष भीमबहादुर गुरुङ, सामुदायिक प्रहरी सेवा केन्द्र, माटेपानीकी उपाध्यक्ष मीरादेवी आचार्य, गैरीगाउँ टोल विकास संस्थाका अध्यक्ष दलमान पुन, जनसक्रिय टोल विकास संस्थाका सचिव माधव क्षत्रीलगायतले विश्व मधुमेह दिवस तथा कार्यक्रमको बारेमा बोल्नुभएको थियो ।
जनसक्रिय टोल विकास संस्था स्थापना भएको छोटो समयमै सरसफाइलगायतका विभिन्न सामाजिक कार्यमा सक्रिय हुँदै आएको बताउँदै अध्यक्ष डीबी राईले स्वास्थ्य क्षेत्रमा समेत आम टोलबासीलाई सचेत गराउने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।
जनसक्रिय टोल विकास संस्थाका उपाध्यक्ष एवं पोखरा रेफरेन्स ल्याबोरेटरी (पीआरएल)का बजार निर्देशक डिल्लीप्रसाद सुवेदीले पीआरएलको स्थापनाको छोटो समयमै हालसम्म विभिन्न संस्थासँगको सहकार्यमा ६ स्थानमा परीक्षण शिविर सञ्चालन गरिसकेको जानकारी दिनुभयो ।

Advertisment