चन्दा उठाएर बागलुङ समाजले बनायो ५१ लाखको बहुउद्देश्यीय कभर्ड हल

पोखरा, ३० कात्तिक
पोखरा महानगरपालिका वडा नं. २९, सैनिकबस्ती ग्रुप नं. २, बागलुङ समाजले चन्दा सहयोग संकलन गरेर बहुउद्देश्यीय कभर्ड हल निर्माण सम्पन्न गरेको छ । समाजले ५१ लाख ५० हजार रुपैयाँ लागतमा पट्नेरीमा बहुउद्देश्यीय कभर्ड हल निर्माण गरेको हो ।
घुम्टे गाजा सहकारी संस्था लिमिटेडको १० लाख रुपैयाँ ऋण सहयोग र अन्य विभिन्न देशमा रहेका बागलुङेहरू तथा बागलुङ समाजका सदस्यहरूबाट चन्दा सहयोग संकलन गरी कभर्ड हल निर्माण गरिएको समाजका अध्यक्ष हरकुमार रानाले जानकारी दिनुभयो ।
कभर्ड हल निर्माणका लागि साउदी अरब तथा कतारमा वैदेशिक रोजगारीमा गएकाहरूबाट ३ लाख ५० हजार, बेलायतबाट ५ लाख, हङकङबाट ५ लाख, दक्षिण कोरियाबाट ५ लाख र बागलुङ समाजका सदस्यहरूबाट देउसी भैलोलगायतका अभियानमार्फत् १५ लाख रुपैयाँ संकलन गरिएको अध्यक्ष रानाले जानकारी दिनुभयो ।
कभर्ड हलको उद्घाटन गर्दै गण्डकी प्रदेशसभाको अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला ‘रूपक’ले जनता आफैं जागरूक भएर विकास, निर्माणमा जुट्नु खुशीको कुरा भएको बताउनुभयो । हरेक कुरामा सरकारको मुख ताकेर बस्ने भन्दा पनि आफूले के गर्न सकिन्छ भन्ने सोंच्नुपर्ने बताउँदै सभापति रूपकले बागलुङ समाजले सहयोग उठाएर बहुउद्देश्यीय कभर्ड हल निर्माण गरेर सराहनीय कार्य गरेको बताउनुभयो । सभापति रूपकले समाजका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै यस क्षेत्रको विकासका लागि योजनाबद्ध रुपमा अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
पोखरा महानगरपालिका वडा नं. २९ का वडाध्यक्ष चेतबहादुर गुरुङले बागलुङ समाजले बहुउद्देश्यीय कभर्ड हल निर्माण गरेर सराहनीय कार्य गरेको भन्दै कभर्ड निर्माण गर्दाको ऋण मोचनका लागि वडाको तर्फबाट सक्दो सहयोग गर्ने वचन दिनुभयो । नेपाल मगर संघ, कास्कीकी उपाध्यक्ष बुद्धिमाया थापाले नेपाल मगर संघको एकाइका रुपमा होस् या बागलुङ समाजका रुपमा, समाज सधैं सक्रिय रहेकोमा आफूलाई खुशी लागेको बताउनुभयो ।
समाजले बहुउद्देश्यीय कभर्ड हलको उद्घाटनसँगै आफ्नो दोस्रो वार्षिक साधारणसभा समेत सम्पन्न गरेको छ । सो अवसरमा ८० वर्षमाथिका तीन जना ज्येष्ठ नागरिकलाई सम्मान पनि गरिएको थियो । ८९ वर्षीया चन्द्रकला थापा, ८८ वर्षीया दिलमती थापा र ८२ वर्षीया मनकली पुनलाई सम्मान गरिएको हो । त्यसैगरी, २०७५ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण १३ जना छात्रछात्राहरूलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा बहुउद्देश्यीय कभर्ड हल समयमै निर्माण सम्पन्न गरेको भन्दै तनहुँको घिरिङ गाउँपालिकाका निर्माण व्यवसायी सुकबहादुर थापालाई सम्मान गरिएको थियो ।
साधारणसभाले समाजका सचिव लक्षुमन पुन र कोषाध्यक्ष मनमाया काउचाले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित समेत गरेको छ । समाजका अध्यक्ष हरकुमार रानाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष उमादेवी पाण्डे मगर र भावना बुढाथोकी मगरले पनि बोल्नुभएको थियो ।
बागलुङ जिल्लाका विभिन्न भेगबाट सैनिकबस्तीमा बसोबास गर्दै आएका बागलुङेहरूले २०५८ सालमा स्थापना गरेको बागलुङ समाजले विभिन्न सामाजिक कार्यमा क्रियाशीलता देखाउँदै आएको छ । कार्यक्रमका अवसरमा समाजका संस्थापक अध्यक्ष स्व. भीमबहादुर बहिकको तस्वीरमा माल्यार्पण समेत गरिएको थियो । नवनिर्मित बहुउद्देश्यीय कभर्ड हलसहित शौचालय र भान्सा कोठा समेत निर्माण गरिएको छ । कभर्ड हल निर्माण भएपछि ब्याडमिन्टन खेल्न, सभा, सम्मेलन गर्न सहज हुने भएको छ ।

Advertisment