देशको राष्ट्रवादी शक्ति भनेको राप्रपा हो ः कमल थापा

पोखरा, २६ कात्तिक
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाले देशमा राष्ट्रवादी शक्तिको आवश्यकता छ, त्यो शक्ति भनेको राप्रपा भएको बताउनुभएको छ ।
मंगलबार पोखरा स्थित विरौटा चोकमा भएको चुनावी घोषणा सभामा बोल्दै थापाले एमाले र काँग्रेसको विकल्प पार्टी राप्रपा भएको बताउँदै विदेशी दवावमा हिन्दु धर्म परिवर्तन गर्ने जुन सोंच बनाएका छन् त्यो कदापी पूरा हुन नसक्ने बताउनुभयो । उहाँले नेपालको पहिचान संकटमा परेको बताउँदै राप्रपा सत्ता केन्द्रीत नभई जनता केन्द्रित भई अब देशको विकासका लागि लड्न कुरामा राप्रपा कहिल्यै पछि नहट्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै थापाले छातिमा हात राखेर देशलाई संरक्षण गर्ने हैसियत दिन सबैलाई आग्रह गर्दै स्वतन्त्र नागरिकको हैसियतले राप्रपाका उम्मेदवारलाई जिताउन पोख्रेली जनतालाई आग्रह गरे ।
हिन्दु राष्ट्र र संवैधानिक राजसंस्था राप्रपाको एजेण्डा भएको बताउँदै राष्ट्रिय स्वतन्त्रता, एकता र अखण्डताको संरक्षण, सुशासन, पूर्ण धार्मिक स्वतन्त्रता सहित धर्म सापेक्ष सनातन हिन्दु राष्ट्र कायमको लागि राप्रपा सधैं लडिरहने बताउँदै देशमा भष्ट्रचार मौलाएको छ भष्ट्रचार मुक्त शासन व्यवस्था कायम गर्न राप्रपाको गाई चिन्हको मतदान गर्न अध्यक्ष थापाले आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रदेश उपाध्यक्ष तथा पूर्व मन्त्री तोरण बहादुर गुरुङ, सहायक महामन्त्री मदन बहादुर कार्की, विन्दु पहारी, गण्डकी प्रदेश संयोजक हेमजंग गुरुङ, केन्द्रीय सदस्य तथा जिल्ला निर्वाचन समिति सदस्य जयलाल पुन, केन्द्रीय सदस्य कुल बहादुर गुरुङ कुलु, युवक संगठन गण्डकी प्रदेश प्रमुख हिक्मत जंग कार्की, वडा नं. १६ का इकाई अध्यक्ष दण्डीराज आचार्य लगायतले बोल्नुभएको थियो ।
जिल्ला अध्यक्ष गणेश बहादुर ढकालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत केन्द्रीय जयलाल पुन र संचालन प्रदेश सचिव बरुण बिक्रम राणाले गर्नुभएको थियो ।
सोही अवसरमा राप्रपा अध्यक्ष थापाले पोखरा १६ र १७ को चुनावी प्रचारप्रसार कार्यालयको उद्घाटन समेत गर्नुभएको थियो भने विभिन्न पार्टी परित्याग गरी राप्रपामा प्रवेश गर्ने महानुभावहरुलाई अध्यक्ष थापाले पार्टी प्रवेश गराउनुभएको जानकारी प्रचारप्रसार संयोजक सूर्य बाँस्तोलाले जानकारी दिनुभयो ।

Advertisment