नेकपाको आदिवासी जनजाति परिचालन उपसमिति संयोजकमा गुरुङ

पोखरा, २६ कात्तिक

आगामी मंसिर १४ गते हुने कास्की क्षेत्र नं. २ को उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सम्बद्ध आदिवासी जनजाति महासंघ, नेपालले जिल्ला निर्वाचन मूल कमाण्ड समिति तथा जिल्ला निर्वाचन परिचालन समिति अन्तर्गत आदिवासी जनजाति परिचालन उपसमिति गठन गरेको छ ।

मंगलबार सम्पन्न आदिवासी जनजाति महासंघ, नेपालको भेलाले चेतबहादुर गुरुङको संयोजकत्वमा १ सय १ सदस्यीय आदिवासी जनजाति परिचालन उपसमिति गठन गरेको छ । भेलाले सह–संयोजकमा रामबहादुर थापा, सचिवमा लालबहादुर राना, सह–सचिवमा दिलीप श्रेष्ठ र कोषाध्यक्षमा राजकुमारी भुजेललाई चयन गरेको छ । त्यस्तै, भेलाले आदिवासी जनजाति महासंघ, नेपालका नेता झकबहादुर थापाको संयोजकत्वमा ११ सदस्यीय अनुगमन समिति र अर्का नेता लोकबहादुर थापाको संयोजकत्वमा ११ सदस्यीय सल्लाहकार समिति गठन गरेको संयोजक गुरुङले जानकारी दिनुभयो ।

भेलामा नेकपा, कास्कीका इञ्चार्ज एवं निर्वाचन मूल कमाण्ड संयोजक राजकाजी गुरुङ “करण”ले कास्की क्षेत्र नं. २ को उपनिर्वाचनमा नेकपा उम्मेदवार विद्या भट्टराई अधिकारीलाई अत्याधिक मतले विजयी गराउन आदिवासी जनजाति समुदायले अग्रणी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । समृद्धिको नेतृत्व नेकपाले मात्रै गर्न सक्ने भन्दै नेता करणले नेपालको हरेक राजनैतिक परिवर्तनमा आदिवासी जनजाति समुदायले उल्लेखनीय योगदान गरेको र अब समृद्धिको यात्रामा पनि प्रमुख भूमिका रहने बताउनुभयो ।

त्यसैगरी, नेकपा, कास्कीका सह–इञ्चार्ज एवं ज.व.सं मोर्चा इञ्चार्ज श्रीनाथ बरालले कास्की–२ की नेकपा उम्मेदवार विद्या भट्टराई अधिकारीको घरदैलो अभियानमा आदिवासी जनजाति समुदायले विशेष भूमिका खेल्नुपर्ने बताउनुभयो । त्यस्तै, नेकपा, कास्कीका सचिव बखानसिंह गुरुङ “आभास”ले सूर्य चिह्नमा मतदान गरी नेकपा उम्मेदवारलाई विजयी गराउन आदिवासी जनजातिले सक्रिय भूमिका खेल्नुपर्ने बताउनुभयो ।

 

Advertisment