भारतको नयाँ नक्सामा नेपाली भूमि पारिएकोमा मगर संघको चेतावनी

पोखरा, २४ कात्तिक
भारतले आफ्नो नयाँ नक्सामा नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई पारेकोमा यतिबेला नेपालीहरूले चर्को विरोध गरिरहेका छन् । भारतविरुद्ध नेपालीहरू आक्रोशित बनिरहेका छन् ।
यसैबीच, नेपालका आदिवासी मगर समुदायको साझा संस्था नेपाल मगर संघले पनि एक विज्ञप्ति प्रकाशित गरी भारतले नेपाली भूमिलाई आफ्नो नयाँ नक्सामा पारेकोविरुद्ध मगर समुदाय लड्न तयार रहेको चेतावनी दिएको छ । संघका अध्यक्ष नवीन रोकामगर र महासचिव ज्ञानेन्द्र पुनमगरद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत् कूटनीतिक पहलमार्फत् नेपाल–भारतबीचको सीमा समस्या समाधान गर्न पनि नेपाल सरकारलाई आग्रह गरिएको छ ।
विज्ञप्तिमा राष्ट्रिय स्वाधीनताको लडाइँमा मगर समुदाय सधैं अग्रमोर्चामा रहेर लड्न तयार रहेको जनाइएको छ । साथै, वीर गोर्खाली भनेर विश्वमा चिनिएका नेपालीहरू पुनः आफ्नो भूमिको रक्षाका निम्ति डटेर लड्न तयार रहेको समेत मगर संघले जनाएको छ । भारतले नयाँ राजनैतिक नक्सामा नेपाली भूमिलाई पुनः समावेश गर्नु भारतीय हैकमवादी र विस्तारवादी चरित्र भएको मगर संघको ठहर छ ।

Advertisment