उपनिर्वाचनमा नेकपा र राजमोबीच तालमेल

पोखरा, २१ कात्तिक
आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाबीच तालमेल भएको छ । जस अन्तर्गत कास्की क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा नेकपालाई राजमोले सघाउने भएको छ भने बागलुङ क्षेत्र नं. २ (ख)को प्रदेशसभा सदस्य उपनिर्वाचनमा राजमोलाई नेकपाले सघाउने भएको छ । तालमेल भएपछि राजमोका मतदाताले सूर्य चिह्नमा र नेकपाका मतदाताले गिलास चुनाव चिह्नमा मतदान गर्नेछन् ।
तत्कालिन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि रिक्त भएको कास्की–२ को उम्मेदवारमा नेकपाले अधिकारीपत्नी विद्या भट्टराईलाई उठाएको छ । त्यस्तै, बागलुङ क्षेत्र नं. २ (ख)का प्रदेशसभा सदस्य टेकबहादुर घर्तीको निधन भएपछि रिक्त भएकोमा सो स्थानमा राजमोले खिमविक्रम शाहीलाई उठाएको छ । राजमो, गण्डकी प्रदेशका अध्यक्ष शंकर बरालले एक प्रेस वक्तव्य जारी गर्दै दुवै उम्मेदवारलाई विजयी गराउन मतदाताहरूमा अपिल गर्नुभएको छ ।

Advertisment