कास्कीकी छोरी भएर आएकी छु ः विद्या भट्टराई

पोखरा, २० कात्तिक
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले कास्की क्षेत्र नं. २ को उपनिर्वाचनमा दिवंगत नेता रवीन्द्र अधिकारीकी पत्नी विद्या भट्टराईलाई उम्मेदवारका रुपमा प्रस्तुत गरेको छ ।
नेकपा, कास्कीको चौथो पूर्ण बैठकले सर्वसम्मत रुपमा एक मात्र उम्मेदवारका रुपमा विद्याको नाम प्रदेश कमिटीमा सिफारिस गरेको थियो । तर, प्रदेश कमिटीले विद्यासहित अन्य दुई जना नेताहरू सोमनाथ अधिकारी “प्यासी” र राजकाजी गुरुङ “करण”को नाम पनि पठाएको थियो । अन्ततः नेकपा, केन्द्रीय सचिवालयले विद्यालाई नै उम्मेदवार बनाउने निर्णय ग¥यो ।
योसँगै कास्की नेकपा उपनिर्वाचनको तयारीमा जुटेको छ । नेकपा, कास्कीको पाँचौं पूर्ण बैठकमा बोल्दै नेकपा नेतृ एवं उम्मेदवार विद्या भट्टराईले आफू विगतमा काठमाडौंकी छोरी भएपनि अब कास्कीकी छोरी भएर आएको बताउनुभएको थियो । “म हिजो काठमाडौंकी छोरी थिएँ”, उहाँले भन्नुभयो, “अब म कास्कीकी छोरी भएर आएकी छु, जिताउने जिम्मा तपाईहरूको ।” उम्मेदवारका रुपमा अघि बढिरहँदा आफूले अनेकन प्रश्नको सामना गर्नुपर्ने भन्दै नेतृ भट्टराईले आफ्ना दिवंगत पति रवीन्द्रको व्यक्तित्व निर्माणमा आफूले पनि महत्वपूर्ण योगदान गरेको स्मरण गराउनुभयो ।
“रवीन्द्रको व्यक्तित्व निर्माणमा मेरो पनि योगदान छ”, उहाँले भन्नुभयो, “सायद यही कारणले होला, हिजो म फरक पेशामा रहँदा पनि पार्टीमा कहीँ न कहीँ योगदान गरिरहेँ, आज पार्टीले मलाई विश्वास गरेको छ ।” आफू विजयी भएर रवीन्द्रका बाँकी सपना पूरा गर्ने अठोट लिएको पनि उहाँले सो अवसरमा बताउनुभयो ।
बैठकमा नेकपाका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सह–इञ्चार्ज खगराज अधिकारी, प्रदेश अध्यक्ष हितराज पाण्डे “उत्तम”, कास्की जिल्ला इञ्चार्ज राजकाजी गुरुङ “करण”, पोखरा महानगर इञ्चार्ज मानबहादुर जिसीलगायतका नेताले पार्टीलाई अत्याधिक बहुमतले विजयी गराउन खटिनका लागि जिल्ला सदस्यहरूलाई निर्देशन दिनुभयो । नेकपा, कास्की अध्यक्ष कृष्ण थापाको अध्यक्षतामा भएको बैठकमा सचिव बखानसिंह गुरुङ “आभास”ले पनि बोल्नुभएको थियो ।
बैठकले आगामी मंसिर १४ गतेको उपनिर्वाचनका लागि कास्की जिल्ला इञ्चार्ज राजकाजी गुरुङ “करण”को संयोजकत्वमा निर्वाचन मूल कमाण्ड समिति र जिल्ला अध्यक्ष कृष्ण थापाको संयोजकत्वमा निर्वाचन परिचालन समिति बनाएको छ । जस अन्तर्गत विभिन्न उपसमिति समेत निर्माण गरिएका छन् । ती उपसमितिहरू ५१ सदस्यीय हुने निर्वाचन प्रचारप्रसार उपसमितिका संयोजक त्रिभुवन पौडेलले जानकारी दिनुभयो ।

Advertisment