फुटपाथ व्यापारीलाई दुःख नदिन माओवादी केन्द्रको चेतावनी

पोखरा, २० कात्तिक
नेकपा (माओवादी केन्द्र), गण्डकी प्रदेश (तमुवान)ले पोखरा महानगरपालिकाले फुटपाथमा व्यापार गरी जीविकोपार्जन गर्ने साना व्यापारीलाई अनावश्यक दुःख दिएको भन्दै त्यसो नगर्न सचेत गराएको छ ।
माओवादी केन्द्रका प्रदेश सचिव भोजराज त्रिपाठीले बुधबार एक विज्ञप्ति जारी गर्दै फुटपाथ व्यापारीका सामानहरू खोस्ने, कुटपिट गर्ने तथा लखेट्नेजस्ता निन्दनीय कार्य महानगरपालिकाले गरेको बताउनुभएको छ । साना व्यापारीलाई अनावश्यक दुःख दिइ आतंकित पार्ने कार्य गरिएको भन्दै सचिव त्रिपाठीले व्यापारीबाट खोसिएका सामग्री फिर्ता गर्न र त्यस्ता कार्य अविलम्ब रोक्न आग्रह समेत गर्नुभएको छ ।
साना एवं खुद्रा व्यापारीलाई आतंकित पार्ने कार्य रोकी शान्तिपूर्ण वातावरणमा व्यवसाय गर्न पाउने अवस्था सिर्जना गर्न महानगरपालिकालाई विज्ञप्तिमार्फत् अनुरोध समेत गरिएको छ । महानगरपालिकाको दुःख दिने हर्कत जारी रहेमा आफ्नो पार्टीले आवश्यक निर्णय लिन बाध्य हुने पनि माओवादी केन्द्र, गण्डकी प्रदेशले विज्ञप्तिमार्फत् जनाएको छ ।

Advertisment