व्यवसाय क्षेत्रमा लगानी गर्न अहिले उपयुक्त वातावरण छ ः ऊर्जा मन्त्री अनन्त

पोखरा, १८ कात्तिक
ऊर्जा, जलस्रोत तथा सिंचाइँ मन्त्री वर्षमान पुन “अनन्त”ले व्यवसाय क्षेत्रमा लगानी गर्न अहिले उपयुक्त वातावरण भएको बताउनुभएको छ । लाफा ग्रुप लिमिटेडको दोस्रो वार्षिक साधारणसभालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै ऊर्जा मन्त्री अनन्तले सरकारले व्यवसायमैत्री वातावरण बनाउन प्रयत्न गरिरहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा ऊर्जा मन्त्री अनन्तले काठमाडौं शहर देखिने दहचोकको डाँडाबाट लाफा ग्रुप लिमिटेडले आफ्नो व्यवसायिक सुरुवात गर्नु विम्बात्मक रुपमा निकै महत्वपूर्ण रहेको बताउँदै दहचोकजस्तो उचाइमा रहेको ठाउँमा लाफा ग्रुपले सामूहिक लगानीमार्फत् व्यवसाय सुरुवात गर्नु ठूलो कुरा भएको बताउनुभयो । “दहचोकजस्तो उचाइमा रहेको ठाउँमा मगर समुदाय पुग्नु निकै ठूलो कुरा हो”, उहाँले भन्नुभयो, “मगर समुदायले उचाइबाट सोंच्नु भनेको राम्रो कुरो हो, तर, उचाइमा टिकिरहनु चुनौतीपूर्ण कुरो हो ।”


नेपालका सबै जातिहरूले सबै काम गर्न सक्छन् भन्ने प्रमाणित गर्नु आवश्यक भएको बताउँदै उहाँले विगतमा जस्तो जातिविशेषका आधारमा श्रम विभाजन हुने कुरालाई अब तोड्नुपर्ने बताउनुभयो । मगर समुदायले उद्यमशीलता र व्यवसाय क्षेत्रमा अघि बढ्नु खुशीको कुरा भएको बताउँदै उहाँले नेपालमा अझै पनि पूर्ण रुपमा व्यवसायिक सोंचको विकास भइनसकेको बताउनुभयो । लगानी सुरक्षाका लागि सरकारले उपयुक्त वतावरण बनाउन सहयोग गर्ने बताउँदै लगानीकर्ताले पनि सम्भावित क्षेत्र रोजेर लगानी गर्न सक्ने वातावरण बन्दै गइरहेको बताउनुभयो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले राजनैतिक अस्थिरताको अन्त्य भइ देश यतिबेला समृद्धिको यात्रामा अघि बढेको उल्लेख गर्नुभयो । संयुक्त लगानीमार्फत् मगर समुदायलाई व्यवसायिक बनाउने अभियानमा लाफा ग्रुप लागेकोमा प्रशंसा गर्दै मन्त्री थापाले अर्गानिक उत्पादनमा जोड दिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा लैजान सकिने बताउनुभयो ।
ग्रामीण क्षेत्रको जनसमुदायलाई समेत यस अभियानमा जोडेर लैजान सके धेरै सम्भावना रहेको बताउँदै मन्त्री थापाले सम्पूर्ण जनताको लक्ष्यका रुपमा स्थापित गरेर अघि बढ्न सकेको खण्डमा सफल हुन सकिने धारणा व्यक्त गर्नुभयो । जनतालाई आर्थिक रुपान्तरणको योजनासँग जोड्न नसकेसम्म समृद्धि हासिल गर्ने कुरा सपना मात्रै हुने भन्दै उहाँले सबैलाई समेट्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
कम्पनीका बिजनेश सल्लाहकार एवं फेलो चार्टर्ड एकाउण्टेण्ट निल सारूले सबै शेयरधनीहरूको सुझाव लिएर अघि बढ्न आग्रह गर्दै सम्भाव्यता अध्ययन गरेर मात्रै लगानी गर्न सुझाव दिनुभयो । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का अध्यक्ष डण्ड गुरुङले लाफा ग्रुपले व्यवसायिक प्रगति हासिल गर्ने योजनाका साथ अघि बढेकोमा खुशी लागेको बताउँदै व्यवसायिक सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
कम्पनीका सल्लाहकार एवं नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक कुबेरसिंह रानाले शेयरधनीहरूले भावनात्मक र व्यवसायिक रुपमा लगानी गरेको बताउँदै लगानीको संरक्षणका लागि सञ्चालक समितिले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । कम्पनीको सहायक कम्पनी लाफा भिलेज रिसोर्ट प्रालिका अध्यक्ष रक्षाबहादुर रैकाले पर्यटन क्षेत्रमा योगदान पु¥याउने उद्देश्यले रिसोर्टमा लगानी गर्न लागिएको बताउँदै लाफा भिलेज रिसोर्टमा लगानी गर्नका लागि आग्रह गर्नुभयो ।
कम्पनीको सहायक सामाजिक संस्था लाफा रूङ फाउण्डेशनका सचिव डा. मीन श्रीसले कम्पनीले व्यवसायिक मात्र नभइ सामाजिक उत्तरदायित्व पूरा गर्न र सांस्कृतिक सम्पदाको संरक्षणका लागि समेत विशाल बुद्ध र हजार बुद्ध निर्माण गर्ने परिकल्पना गरेको बताउनुभयो । त्यस्तै, कम्पनीको सहायक वित्तीय संस्था लाफा बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चितवनका अध्यक्ष महेन्द्र थापाले वित्तीय क्षेत्रमा लगानी गर्ने उद्देश्यका साथ सहकारीको स्थापना गरिएको बताउनुभयो ।
लाफाखबर डटकमका सञ्चालक एमबी आस्थाले सूचना प्रविधिको विकाससँगै अनलाइन सञ्चारमाध्यमको आवश्यकतालाई मध्यनजर गर्दै सूचना सम्प्रेषणका लागि समाचार अनलाइनको सुरुवात गरिएको बताउनुभयो । त्यसैगरी, कम्पनीको सहायक कम्पनी लाफा होलिडेज प्रालिका अध्यक्ष जीवन थापाले पर्यटन क्षेत्रमा लगानी गर्ने उद्देश्यका साथ यस कम्पनीको स्थापना गरिएको र विदेशमा समेत शाखा स्थापना गर्ने उद्देश्य राखिएको बताउनुभयो । कार्यक्रममा लाफा ग्रुप लिमिटेडले सञ्चालन गरिरहेका व्यवसायिक परियोजना बारे तयार पारिएको वृत्तचित्र समेत प्रस्तुत गरिएको थियो ।
लाफा ग्रुप लिमिटेडकी अध्यक्ष चन्द्रज्योति आलेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सञ्चालक समिति सदस्य रक्षाबहादुर रैका, कम्पनी सचिव हरिप्रसाद तिवारी र पत्रकार रूद्रबहादुर श्रीस र सञ्चालक समिति सदस्य जंगबहादुर थापाले स्वागत गर्नुभएको थियो । लाफा ग्रुप लिमिटेडको दोस्रो वार्षिक साधारणसभाले आर्थिक प्रतिवेदन एवं वित्तीय प्रतिवेदन आवश्यक सुझावसहित सर्वसम्मतिले पारित समेत गरेको छ ।

Advertisment