भैलो–देउसीका बलिराजा

-डा. मीन श्रीस मगर (minshrisphd@gmail.com)

“ए है भन भन साथी ! भैलो

हामी त्यसै आएका होइनौं ! भैलो

बलिराजाले पठाएको ! भैलो”

मगरात अर्थात गण्डकी प्रश्रवणक्षेत्रका पहाडी बस्तीहरूका घरआँगनमा कात्तिक औंसीदेखि शुक्ल द्वितीयासम्म भैलो–देउसी समूहले मादलको तालमा यसरी नै गाउदै र नाच्दै तिहार आगमनको सन्देश पु¥याउने परम्परा आजसम्म निरन्तर चलिआएको पाइन्छ । मध्यकालको पूर्वाद्र्धको शुरुशुरुमा गण्डकीप्रश्रवण क्षेत्रको मगरात प्रदेशमा मग्वर, धवलस्रोत र गण्डीगुल्म विषयहरू एक अर्कासँग जोडिएका थिए । वि. सं. ८३५ देखि ८६९ को समयावधितिर मगरातका राजा अरमुड्डीले आक्रमणकारी काश्मीरका राजा जयापीड विजयादित्यलाई पक्रेर गिरी दुर्गमा थुनेको कुरा काश्मीरका प्रसिद्ध इतिहासकार कल्हणद्वारा लिखित राजतरंगिनीमा उल्लेख गरिएको छ । पर्वत जिल्लाको सदरमुकाम कुश्मा नजिकै कालीगण्डकी किनारमा रहेको दुई तले चट्टानदार प्राकृतिक गुफा नै तत्तकालीन गिरी दुर्ग भएको अनुमान गरिएको छ । कालीगण्डकी किनार स्थित गुल्मीको अरबेनी र कुस्मा नजिकै पर्ने अरमाडी गाउँ उनै मगर राजा अरमुड्डीको नाउँबाट रहन गएको मगर भाषी शब्द भएको बुझिन्छ (श्रेष्ठ, २०५९ः ६–९) । मगरात क्षेत्रमा विक्रमको नवौं शताब्दीतिर मगर राजा अरमुड्डी तथा पन्ध्रौं शताब्दीमा बलिराजा निकै प्रसिद्ध रहेको कुरा ऐतिहासिक विवरण एवं लोकश्रुतिबाट प्रष्ट हुन्छ । तिहारमा भैलो–देउसी खेल्ने परम्पराको थालनी बलिहाङ राना मगर अर्थात बलिराजाको समयदेखि भएको लोकइतिहासबाट पुष्टि भएको देखिन्छ ।

विक्रमको पन्ध्रौं शताब्दीको उत्तराद्र्धमा विशाल खश साम्राज्य विभाजन भई कर्णली प्रदेशमा वाइसी राज्यहरू र गण्डकी प्रदेशमा चौवीसी राज्यहरूको स्थापना हुनगयो । यसै क्रममा गण्डकी प्रदेशका शक्तिशाली स्थानीय शासक बलिहाङ राना मगरले स्वतन्त्र बल्ढेङगढी राज्य घोषणा गरे । धेरैजसो इतिहासकारहरूले वि. सं. १४४८ मा बल्ढेङगढी राज्य स्थापना भएको उल्लेख गरेका छन् । इमानसिंह चेम्जोङ (सन् १९६७) र गोपीनाथ शर्मा (२०७१) का अनुसार बल्ढेङगढी राज्यको सीमाना पोखरादेखि गोरखपुरसम्म फैलिएको थियो । बलिहाङ (बलिराजा) ले राज्य स्थापना गर्दा चारहजार (मगर भाषामा बुलीह्वाङ) योद्धा थिए । बुलिह्वाङ सेनाले निर्माण गरेको कटककिल्लालाई बुलीह्वाङगढी भनियो । बुलिह्वाङगढीलाई आजकल बल्ढेङगढी भनिन्छ । ती बलिहाङ राना मगर अर्थात बलीराजाको बारेमा तिहारमा खेलिने भैलो देउसी गीतमा पनि वर्णन गरिएको पाइन्छ । बलीराजा मृत्युको मुखमा पुगेका बेलामा त्यस राज्यका सारा जनताले नाचगान, भैलो–देउसी खेली यमराजसँग आफ्ना राजाको आयू बढाइदिन प्रार्थना गरे । फलस्वरुप राजा बलिहाङ आकाल मृत्युबाट बचेका थिए । पछि त्यो सांस्कृतिक परम्पराको रुपमा विकसित भएर तिहारमा भैलो–देउसी खेल्ने मगराँतको प्रचलनको रुपमा स्थापित भएको लोकइतिहास पाइएको छ ।

इतिहासकार प्रा. डा. राजाराम सुवेदी (२०६३) का अनुसार पाल्पामा सेनवंशीय राजाहरूको राज्य स्थापना हुनु पूर्वकालसम्म बल्ढेङगढी राज्य शक्तिशाली रहेको थियो । वि. सं. १४६५ मा धुर्कोट, वि. सं. १४९० मा अर्घा, वि. सं. १४९२ मा खाँची, वि. सं. १४९३ मा गुल्मी, वि. सं. १५५० मा पाल्पा, मुसीकोट र इश्मा राज्यहरूको स्थापना भएपछि बल्ढेङगढी राज्य स्वभाविक रुपमा कमजोर बन्न पुग्यो । तत्कालीन राजा रनवीर राना मगरको समयमा ती सातवटै राज्यहरू मिलेर बलढेङगढी राज्यमाथि एकैचोटी हमला गरी ध्वस्त पारे । सात चौवीसी राज्यहरूले पहिले नुवाकोट डाँडाको नेपानेमाथि आक्रमण गरे । राजाले त्यही ठाउँमा बसी तमाखू खाइरहेका बेलामा सात राज्यका सेनाले छोडेको धनुकाँध लागि हुक्का भाँचियो । त्यति नै बेला राजाले “अब बल्ढेङगढी राज्य नटिक्ने” भविष्यवाणी गरेका थिए भन्ने स्थानीय लोकइतिहास पाइन्छ । बलढेङगढी राज्यमा कब्जा जमाएपछि सातै राज्यले आफूहरूलाई पायक पर्ने क्षेत्र दखल गरे । त्यसरी टुक्राटुक्रा पारी बाँडफाँड गर्दा पाल्पालाई तराईको भाग बढी र अरु राज्यलाई पहाडी भाग बढी गरिएको थियो । वि. सं. १६०० को आसपासमा गरिएको उक्त आक्रमणमा जग्गा बाँडफाँड गर्दा खिदिम क्षेत्रमा खिचलो परेकाले वि. सं. १६६९ मा खाँचीका राजाले जुम्ला गोतामबाट आएका श्रीधर गौतमलाई कुशपानी समातेर विर्तादान गरेका थिए । त्यसपछि वि. सं. १८७२ मा श्री ५ सुरेन्द्रबाट अनुमोदन गराई श्रीधरका एघारौैं पुस्ताका विष्णु पाध्या गौतमलाई विर्ता थामेको, १८९८ मा पुनर्नवीकरण गरेबाट ऐतिहासिक मगर राज्य बलढेङगढीको अस्तिŒवलाई पुष्टि गर्ने आधार पाइएको छ (सुवेदी, २०६३ः ९) ।

महाभारत श्रृङ्खलाको दक्षिणी भागमा पर्ने ऐतिहासिक र सामरिक महŒव बोकेको उक्त गढी पहिले पहाड–तराई गर्ने बाटोमै रहेकाले चौकी र मगर उमराउ (मुखिया) को व्यवस्था गरिएको थियो । बल्ढेङगढी हाल पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका वडा नं. ७ मा पर्दछ । तानसेनबाट भैरवथान हुँदै हाडथोक पुगेर दक्षिण–पश्चिमतिरको बाटो भएर खुर्साने अनि बलढेङगढी पुगिन्छ । तराईतिरबाट रुपन्देहीको साल्झण्डी हुँदै उत्तरतिर लाग्दा पनि बल्ढेङगढी पुग्न सकिन्छ । समुद्र सतहबाट पाँच हजार फिट उचाइमा रहेको ऐतिहासिक बलढेङगढीबाट बुद्ध जन्मस्थल लुम्विनी र सुन्दर हिमश्रृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ । त्यहाँ दरबार, किल्ला, इनार आदिको भग्नावशेष रहेको छ । दरबारको भग्नावशेषमा रहेको कुँवारीदेवीको मन्दिरमा वैशाख पूर्णिमा, आषाढ पूर्णिमा, वडा दसैंको अष्टमी र मंसिरको न्वागीमा पूजा हुने गर्दछ । स्थानीय पल्ली मगर थरका पुजारीसँग तत्कालीन मगर राजवंशको गोलो ताम्रपत्र पनि सुरक्षित रहेको भनाई सुन्नमा आएको छ ।

(साभारः मगर जातिको इतिहास २०७५)

सन्दर्भ सामाग्री

शर्मा, गोपीनाथ. (२०७१). चौवीसी राज्यको इतिहास. काठमाडौंः मकालु प्रकाशन ।

श्रीस मगर, मीन. (२०७५). मगर जातिको इतिहास. हङ्गकङ्गः मगर संघ हङ्गकङ्ग ।

श्रेष्ठ, टेकबहादुर. (२०५९). पर्वत राज्यको ऐतिहासिक रुपरेखा. काठमाडौंः नेपाल र एशियाली अनुसन्धान केन्द्र, त्रि. वि., कीर्तिपुर ।

सुवेदी, राजाराम. (२०६३). मगर जातिको नालिवेली. शोधमाला, २(१), पृ. ५–१० ।

Chemjong, I. S. (1967). History and culture of Kirant people. Vol II. (3nd ed.). Kathmandu: Pushpa Ratna Sagar.

Advertisment