कास्की क्षेत्र नं. २ को उपनिर्वाचनमा नेकपाको उम्मेदवार विद्या भट्टराई

पोखरा, ८ कात्तिक
नेपाल कम्युनिष्ट पार्टी (नेकपा), कास्कीले आगामी मंसिर १४ गते प्रतिनिधिसभाका लागि हुने उपनिर्वाचनमा कास्की क्षेत्र नं. २ बाट विद्या भट्टराईलाई उम्मेदवार बनाउन सिफारिस गरेको छ ।
नेकपा, कास्कीको शुक्रबार सम्पन्न चौथो पूर्ण बैठकले नेतृ भट्टराईलाई एकल उम्मेदवारका रुपमा सर्वसम्मत निर्णय गर्दै सिफारिस गरेको हो । शुक्रबार दिनभरि चलेको बैठकमा जिल्ला कमिटी सदस्यहरूले उम्मेदवारका सन्दर्भमा केहीले मौखिक र केहीले लिखित रुपमा आ–आफ्ना धारणा राखेका थिए । सबैको धारणा सुनिसकेपछि कास्की जिल्ला इञ्चार्ज राजकाजी गुरुङ “करण”ले विद्या भट्टराईको नाम प्रस्ताव गर्नुभएको थियो ।


नेतृ भट्टराई दिवंगत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीकी धर्मपत्नी हुनुहुन्छ । अधिकारीको फागुन १५ गते भएको हेलिकोप्टर दुर्घटनामा परी निधन भएपछि कास्की क्षेत्र नं. २ मा प्रतिनिधिसभाका लागि उपनिर्वाचन हुन लागेको हो ।
रवीन्द्रपत्नी विद्याको नाम एकल रुपमा सिफारिस भएपछि कास्की क्षेत्र नं. २ का नेकपा उम्मेदवारका बारेमा भइरहेका अनेकन अड्कलबाजी सकिएको छ । यसअघि, कास्की क्षेत्र नं. २ को नेकपा उम्मेदवारमा विद्यासँगै नेकपाका नेता सोमनाथ अधिकारी “प्यासी”, कास्की इञ्चार्ज राजकाजी गुरुङ “करण”, तुलबहादुर गुरुङ, सह–इञ्चार्ज श्रीनाथ बराल, भीम कार्की, बखानसिंह गुरुङ “आभास”, धनराज आचार्यलगायतका नेताहरूको चर्चा थियो ।
बैठकमा नेकपाका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका सह–इञ्चार्ज खगराज अधिकारी, प्रदेश अध्यक्ष हितराज पाण्डे “उत्तम”, कास्की जिल्ला इञ्चार्ज राजकाजी गुरुङ “करण”लगायतले निर्देशनात्मक मन्तव्य व्यक्त गर्नुभएको थियो । बैठकमा कास्की जिल्ला अध्यक्ष कृष्ण थापाले उपनिर्वाचन नसकिएसम्म जिल्ला कमिटी सदस्यहरूलाई जिल्ला नछोड्न निर्देशन समेत दिनुभएको छ ।

Advertisment