साना व्यवसायीको संरक्षण आवश्यक छ ः मन्त्री अजित

पोखरा, ५ कात्तिक
गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमान ‘अजित’ले साना व्यवसायीको पक्षमा आफू निरन्तर लागिरहेको बताउनुभएको छ ।
राष्ट्रिय उद्योग व्यापार महासंघ, गण्डकी प्रदेशले बडा दशैं, तिहार, छठ पर्व तथा नेपाल सम्वत् ११४० का अवसरमा पोखरामा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै उहाँले प्रदेशले समृद्धि हासिल गर्न साना व्यवसायीहरूको संरक्षण आवश्यक रहेको बताउनुभयो । उहाँले गण्डकी प्रदेश सरकारले समृद्ध गण्डकी निर्माणका लागि थालेका प्रयासहरूको सकारात्मक संकेत देखिन थालेको स्मरण गर्दै केही पनि भएन भनेर गरिएको नियोजित हल्लाको पछाडि नलाग्ने सबैलाई आग्रह गर्नुभयो । सबैले केही भएन भनेको सुनेर आफ्नै आँखा अगाडि देखिएका केही परिवर्तनहरू पनि पत्याउन गाह्रो होला जस्तो बनाइएको उहाँको भनाइ थियो ।
कार्यक्रममा नेकपा कास्की जिल्ला इञ्चार्ज राजकाजी गुरुङ ‘करण’ले उपनिर्वाचनमा होमिन सबैलाई आग्रह गर्नुभयो । नेकपाका दैनिक देखिँदै आएका सुधारका प्रयासहरूबाट केही बाह्य र केही आन्तरिक शक्ति नेकपा कमजोर बनाउन लागि परेको भन्दै समृद्धिको बाटोमा अविचलित रुपमा लागि रहने उहाँको भनाइ थियो । सुशासन र दण्डहीनताको अन्त्यका लागि वर्तमान सरकारले आफ्ना नेताबाटै अभियान सुरु गरेको र यसमा जो सुकै पनि पर्न सक्ने भएकाले नअतालिन अन्य दलहरूलाई उहाँले आग्रह गर्नुभयो । सुशासन र कानूनी राज स्थापनाका लागि जो भएपनि छुट नहुने भएकाले को प¥यो भनेर हेर्न भन्दा पनि कस्ता अपराधीले कारबाही भोगे भन्ने हिसाबले हेर्न उहाँले सबैलाई अनुरोध गर्नुभयो । कार्यक्रममा उद्योग व्यापार महासंघका गण्डकी प्रदेश इञ्चार्ज राजकुमार सुबेदी, केन्द्रीय सदस्य दिलीप न्यौपाने, उपाध्यक्ष प्रवेश उपे्रतीलगायतले बोल्नुभएको थियो ।

Advertisment