छैठौं रामबजार महोत्सव भोलीदेखि

पोखरा, ३० असोज
रामबजार युथ क्लब, पोखराको आयोजनामा छैठौं रामबजार महोत्सव भोलीदेखि सुरु हुने भएको छ ।
रामबजारस्थित कालिका माविको प्रांगणमा हुने महोत्सवको उद्घाटनका अवसरमा प्रभातफेरी समेत निकालिने भएको छ । प्रभातफेरी कृष्ण मन्दिर, घलेचोकबाट सुरु भइ किरण मेडिकल, गौरीमार्ग चोक, पेन्सन क्याम्प, राम मन्दिर, कालिका चोक हुँदै कालिका माविको प्रांगणमा पुगी कार्यक्रममा परिणत हुनेछ ।
प्रभातफेरीमा सहभागी हुने झाँकी समूहलाई ५ हजार रुपैयाँ प्रदान गरिने र प्रत्येक आमा समूहलाई १ हजार रुपैयाँ प्रदान गरिने क्लबका अध्यक्ष धनबहादुर पुनले जानकारी दिनुभयो । कात्तिक ९ गतेसम्म हुने महोत्सवमा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने कार्यक्रम संयोजक माया गुरुङले जानकारी दिनुभयो ।
“परिवर्तन र विकासका लागि युवा एकता, आजको आवश्यकता” भन्ने मूल नाराका साथ सुरु हुन लागेको महोत्सवमा कलाकारहरू समध्वज मल्ल, कमलमान सिंह, देउराली ब्याण्ड, नेपाल आइडल बुद्ध लामा, डीमोर्चा ब्याण्ड, मेलिना राई, लेकाली ब्याण्ड, मिस्टर डी, आशीष राना (लाहुरे)लगायतको प्रस्तुती रहने संयोजक गुरुङले बताउनुभयो । त्यस्तै, महोत्सवमा लोक तथा दोहोरी गायक प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, कुमार पुन, चोलेन्द्र पौडेल, जीवन दाहाल, सुरेन्द्र गुरुङ, पार्वती जिसीलगायतका कलाकारहरूको सांगीतिक प्रस्तुती एवं हास्यकलाकारहरू पोखरेली धुर्मुस (राजेन्द्र नेपाली) र दीपक थापामगरको समेत प्रस्तुती रहनेछ ।

Advertisment