अन्तर्राष्ट्रिय मगर महासंघ गठन गर्दै दोस्रो अन्तर्राष्ट्रिय मगर सम्मेलन सकियो

काठमाडौं, २८ असोज
अन्तर्राष्ट्रिय मगर महासंघको गठन गर्दै मगर अन्तर्राष्ट्रिय मञ्चको आयोजनामा “दोस्रो अन्तर्राष्ट्रिय मगर सम्मेलन” काठमाडौंमा सम्पन्न भएको छ ।
सम्मेलनको उद्घाटन गर्दै उपराष्ट्रपति नन्दकिशोर पुन “पासाङ”ले मगर समुदायको इतिहास गौरवपूर्ण रहेको र विविधतायुक्त आदिवासी समुदाय भएको बताउँदै मगर जातिको प्रगतिमा बाधक हुने संस्कार र संस्कृतिलाई सच्याएर अघि बढ्नु पर्ने बताउनुभएको छ ।
उपराष्ट्रपति पासाङले प्रकृतिपूजक मगर जाति परम्पराप्रति विश्वास गर्ने भएकाले कतिपय संस्कार संस्कृति बोझिलो र आधुनिक समाज अनुकूल नभएकाले त्यसलाई अन्तर्राष्ट्रियकरणका निम्ति समस्या आएको बताउँदै ‘मगर समुदायभित्र बाह्र मगरात, अठार मगरात र काइके क्षेत्रका विविध संस्कार संस्कृति परम्पराहरू छन् । ती सबै हाम्रो एकता, समृद्धिमा सहयोग पुग्ने संस्कृतिहरू हुन र अन्तर्राष्ट्रियकरण हुन् योग्य संस्कृतिहरूलाई लोप हुनबाट जोगाउनु पर्ने कुराको जिकिर समेत गर्नु भएको छ ।
कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिंचाइँ मन्त्री वर्षमान पुन “अनन्त”, पूर्व सभामुख ओनसरी घर्तीमगर, नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगतबहादुर बराम, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष चन्द्रबहादुर गुरुङलगायतले बोलेका थिए ।
सम्मेलनमा ऊर्जामन्त्री अनन्तले मगर र थारू नेपालको सबैभन्दा प्राचीन जाति भएको बताउनुभयो । ‘विश्वभरि मगर जातिको साझा सवाल र आकांक्षा भनेकै जाति, भाषा, संस्कार, संस्कृति परम्पराको एकरूपता र त्यसको प्रवद्र्धन हो भन्दै ‘विश्वभरि आ–आफ्नो धारणा, सांस्कृतिक पृष्ठभूमि आपसमा आदानप्रदान गरेर दीर्घकालसम्म सँगै रहने प्रयास जारी राख्नु पर्ने कुरा बताउनुभएको छ । साथै, सबै भन्दा महत्वपूर्ण सामाजिक, शैक्षिक, आर्थिक पक्षको विकासमा जोड दिनुपर्ने बताउनु भएको छ ।
नेपाल मगर संघ, केन्द्रीय समितिको आयोजनामा आइतबारदेखि दुई दिनसम्म चलेको, र २५ मुलुकका प्रतिनिधिहरू सहभागी भएको उक्त सम्मेलनले आज “अन्तर्राष्ट्रिय मगर महासंघ”को गठन प्रक्रिया पनि सम्पन्न गरेको छ । ऐतिहासिक रुपमा सम्पन्न उक्त सम्मेलनमा “अन्तर्राष्ट्रिय मगर महासंघ”को अध्यक्षमा नेपाल मगर संघका अध्यक्ष नवीन रोकामगरको अध्यक्षतामा अन्तर्राष्ट्रिय कार्यकारी परिषद् गठन भएको छ ।
विभिन्न देशमा स्थायी रुपमा बसोबास गर्ने मगरहरुको संस्था मिलेर बनेको “मगर अन्तर्राष्ट्रिय महासंघ”मा अध्यक्ष नेपाल मगर संघका प्रतिनिधि नवीन रोकामगर, उपाध्यक्ष मगर संघ बेलायतका प्रतिनिधि रूद्र थापामगर, महिला उपाध्यक्ष नेपाल मगर संघकी प्रतिनिधि गंगा खासुमगर, महासचिव मगर संघ बेल्जियम प्रतिनिधि वीरमान घर्तीमगर, उपमहासचिव नेपाल मगर संघका प्रतिनिधि रक्षाबहादुर रैकामगर, सचिव अखिल भारत मगर समन्वय समितका प्रतिनिधि विष्णु रानामगर, सचिव मगर संघ अमेरिका प्रतिनिधि, कोषाध्यक्ष मगर संघ क्यानडा प्रतिनिधि गिरी बुढाथोकीमगर, सहकोषाध्यक्ष अखिल भारत मंगर समन्वय समिति प्रतिनिधि नवीन थापामगर साथै, एसिया संयोजकमा कला थापामगर (भुटान) र अमित थापामगर (भारत) रहनुभएको छ भने बाँकी महादेशीय संयोजक पछि पूरा गर्ने गरि सर्वसम्मतले नयाँ कार्यकारी परिषद् निर्वाचित हुनुभएको हो ।

Advertisment