गलकोटको भुजुङ्गेमा पनि ‘स्टोन भिलेज’ (ढुंगेग्राम) होमस्टे सुरु

गलकोट, २८ असोज
बागलुङको गलकोट नगरपालिका वडा नं. ६, भुजुङ्गेमा पनि घरबास कार्यक्रम ‘होमस्टे’ सुरु भएको छ ।
भुजुङ्गेमा सुरु भएको ‘गलकोट स्टोन भिलेज सामुदायिक होमस्टे’को सोमबार गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले औपचारिक रुपमा शुभारम्भ गर्नुभयो । होमस्टेको शुभारम्भ गर्दै मन्त्री गुरुङले आन्तरिक पर्यटन प्रवद्र्धनमा होमस्टे प्रभावकारी हुने भएकोले प्रदेश सरकारले समेत प्राथमिकता दिएको बताउनुभयो । गण्डकी प्रदेश सरकारको सहयोगमा २ सय ७३ स्थानमा होम स्टे सुरु भएको उहाँले जानकारी समेत दिनुभयो ।
प्रदेश सरकारको समृद्धिको आधार पर्यटन भएकोले पर्यटकीय गतिविधिमा प्रदेश सरकारको साथ रहने उहाँले बताउनुभयो । होटलको सुविधा नभएको स्थानमा खाना र बासको व्यवस्थाका लागि होमस्टेको अवधारणा आएको बताउँदै उहाँले होटलसरह पर्यटकको रुचि अनुसार खाना र बासको व्यवस्थापनमा ध्यान दिन अनुरोध गर्नुभयो । लामो समयसम्म होमस्टेले नथेग्ने भन्दै सुविधा सम्पन्न होटल ग्रामीण भेगमा स्थापना नहुने बेलासम्मका लागि विकल्पको रुपमा होमस्टेको अवधारणा अघि सारिएको मन्त्री गुरुङले बताउनुभयो । होमस्टेमा अरुको नक्कल गरेर खानाका परिकार खुवाउने प्रचलन रहेको भन्दै पाहुनाको रुचि र उपलब्ध कृषि उपजको प्रयोग गरेर अघि बढ्न उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेशसभा सदस्य दिलमाया रोका ‘दीपा’ले गाउँ रित्तै हुन लागेको अवस्थामा प्रदेश सरकारको यो अभियानले सहयोग पुग्ने बताउनुभयो । बाँझा बारीलाई हरियाली बनाइँदै पाहुनाको स्वागतबाट आर्थिक उपार्जन गर्न उहाँले आग्रह गर्नुभयो । परिवर्तन र समृद्धिको आधार भएकोले सबै मिलेर उत्पादनसँगै जोडिएर होमस्टे सञ्चालन गर्न सकेमा बेरोजगारी समस्याको समेत न्यूनीकरण हुने उहाँको विश्वास थियो ।
कार्यक्रममा घरबासका बारेमा अवधारणा मन्तव्य राख्दै सल्लाहकार यामबहादुर श्रीसले स्लेट ढुङ्गाको खानी रहेको भुजुङ्गेमा निर्माण गरिने सबै भौतिक पूर्वाधार ढुंगाले निर्माण गर्ने बताउनुभयो । ‘घर आगन ,गोरेटो बाटो, पानी धारा सबै ढुङ्गाले निर्माण गरेर स्टोन भिलेजको रुपमा गाउँको विकास गरी पर्यटन आकर्षण गर्ने हाम्रो लक्ष्य हो’, उहाँले भन्नुभयो । १३ देखि १६ औ शताब्दीसम्म भूरे टाकुरे राजाले राज्य गरेको ऐतिहासिक स्थान समेत रहेकोले त्यहाँ उनीहरूको यथार्थ झल्कने संरचना समेत निर्माण गर्ने उहाँले जानकारी दिनुभयो । कार्यक्रम गलकोट स्टोन भिलेज सामुदायिक होमस्टेकी अध्यक्ष कमला श्रीसको अध्यक्षता तथा पर्यटन व्यवसायी फरेन्द्र थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

Advertisment