सन् २०२१ को लागि डीभी खुल्यो, पासपोर्ट नम्बर र इमेल अनिवार्य

पोखरा, १५ असोज
सन् २०२१ को लागि अमेरिकी डाइभर्सिटी भिसा (डीभी)का लागि आवेदन खुलेको छ । बुधबार मध्याह्न १२ बजेदेखि खुलेको अनलाइन आवेदन ५ नोभेम्बर २०१९ मध्याह्न १२ बजे बन्द हुने छ ।
यस वर्ष आवेदन फारम भर्दा पासपोर्ट नम्बर, पासपोर्टको म्याद र इमेल ठेगाना अनिवार्य गरिएको छ । एक व्यक्तिले एकपटक मात्र आवेदन दिन सक्नेछन् । एकभन्दा बढी पटक आवेदन फारम भर्ने व्यक्ति डीभीका लागि अयोग्य ठहरिने छन् ।
आवेदन फारम भर्न कुनै शुल्क लाग्दैन । डीभीको अनलाइन फारम आफैंले भर्न र फारम भरिसकेपछि प्राप्त हुने कनफर्मेसन नम्बर सुरक्षित राख्नु पर्ने छ । नतिजा सार्वजनिक भएपछि त्यही कन्फर्मेसन नम्बरको आधारमा आफूलाई डीभी परे नपरेको थाहा हुन्छ ।
यस वर्ष ५५ हजारले डीभी चिठ्ठामार्फत् अमेरिकाको भिसा पाउने अमेरिकी अधिकारीहरु बताउँछन् । व्यक्तिगत विवरणको आधारमा कम्प्युटर सिस्टमले डीभीको लागि योग्य व्यक्तिहरुको छनोट गर्ने छ । तर डीभी पर्दैमा अमेरिकाको भिसा पाउने निश्चित हुँदैन । त्यसपछि पनि विभिन्न सर्त र प्रक्रियाहरू पूरा गर्नु पर्ने अधिकारीहरू बताउँछन् ।
नेपालीहरूले डीभीको आवेदन फारम भर्न सक्छन् । भारत, पाकिस्तान, बंगलादेशसहित १७ देशका नागरिकहरूले भने डीभीको फारम भर्न पाउने छैनन् । डीभीको आवेदन दिन नपाउने देशहरुमा चीन (मुख्य भूमिमा जन्मिएका), ब्राजिल, क्यानडा, कोलम्बिया, डोमिनिक रिपब्लिक, एल साल्भाडोर, ग्वाटेमाला, जमैका, मेक्सिको, नाइजेरिया, फिलिपिन्स, दक्षिण कोरिया, बेलायत (उत्तरी आयरल्याण्ड बाहेक) र भियतनाम छन् ।
किनभने यी देशहरूका ५० हजार नागरिकलाई डीभी परिसकेकाले निवेदन दिन नपाउने भएका हुन् । तर, चीनको मुख्य भूमिमा जन्मिएका बाहेक हङकङ, मकाउ र ताइवानका बासिन्दाले भने डीभी भर्न पाउने छन् ।
साभार ः अनलाइनखबर डटकम

Advertisment