मगर सांस्कृतिक संघ, कास्कीद्वारा शुभकामना आदानप्रदान तथा सम्मान

पोखरा, ११ असोज
नेपाल मगर सांस्कृतिक संघ, कास्कीले शुभकामना आदानप्रदान, सम्मान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।
दोस्रो जिल्ला अधिवेशनबाट निर्वाचित भएपछि नयाँ समितिले परिचयात्मक कार्यक्रमसहित सो कार्यक्रमको आयोजना गरेको हो । शनिबार आयोजित कार्यक्रममा बोल्दै नेपाल मगर सांस्कृतिक मञ्च, कास्कीका संस्थापक अध्यक्ष एवं संस्कृतिकर्मी तिलक पुनमगरले मगर समुदाय संस्कृतिमा धनी भएको उल्लेख गर्नुभयो ।
मगर जातिको भाषिक, सांस्कृतिक पहिचानलाई उजागर गर्दै सांस्कृतिक आदानप्रदानका माध्यमबाट सद्भाव र सहिष्णुता कायम गर्नुपर्ने भन्दै उहाँले एक संस्कृतिले अर्को संस्कृतिको सम्मान गर्न सके मात्र नेपाली संस्कृतिको अस्तित्व रहने धारणा राख्नुभयो । संस्कृतिको बारेमा नयाँ पुस्ताले पनि अध्ययन, अनुसन्धान गर्नु आवश्यक रहेको भन्दै पुनमगरले मगर सांस्कृतिक संघले मगर संस्कृतिको अनुसन्धानमा समेत ध्यान दिनुपर्ने बताउनुभयो ।
नेपाल मगर संघ, कास्कीकी अध्यक्ष संगीता पुनमगरले मगर कलाकारहरूले मगर भाषा र संस्कृतिको संरक्षणमा समेत विशेष ध्यान दिनुपर्ने भन्दै अन्य समुदायका कलाकारसरह सांगीतिक क्षेत्रमा प्रतिस्पर्धी बन्न सुझाव दिनुभयो । नेपाल मगर संघ, कास्कीका भाषा तथा शिक्षा विभाग प्रमुख शिव थापामगरले समाज परिवर्तनमा कलाकारहरूको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्नुभयो ।
नेपाल मगर महिला संघकी केन्द्रीय सदस्य फूलकुमारी थापामगरले मगर कलाकारले मगर संस्कृतिको मौलिकतालाई बुझ्नुपर्ने आवश्यकता औंल्याउनुभयो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, गण्डकी प्रदेश एवं तमु कलाकार संघ नेपाल, गण्डकी प्रदेशका अध्यक्ष सुरेन्द्र गुरुङले प्रतिष्ठान मगर सांस्कृतिक संघसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, गण्डकी प्रदेशका नवनिर्वाचित अध्यक्ष सुरेन्द्र गुरुङसहित गण्डकी प्रदेश अन्तर्गतका ६ वटा जिल्लाका नवनिर्वाचित प्रतिष्ठानका जिल्ला अध्यक्षहरूलाई बधाई ज्ञापन एवं सम्मान गरिएको थियो । सो अवसरमा नेपाल मगर संघ, कास्कीका कला तथा संस्कृति विभाग प्रमुखमा नियुक्त भएकोमा गोविन्द पुनमगरलाई पनि बधाई ज्ञापनसँगै सम्मान गरिएको थियो ।
नेपाल मगर सांस्कृतिक संघ, कास्कीकी अध्यक्ष सरिता सारूमगरको अध्यक्षतामा भएको कार्यक्रममा सचिव सुरेश रानामगरले पनि बोल्नुभएको थियो ।

Advertisment