लखन बचत तथा ऋण सहकारी संस्थाको ११ औं वार्षिक साधारणसभा सम्पन्न

पोखरा, ११ असोज
लखन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पोखरा–१०, रामघाट, कास्कीको ११ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
शनिबार सम्पन्न वार्षिक साधारणसभालाई सम्बोधन गर्दै गण्डकी प्रदेशका सांसद् दीपक चर्तीमगरले गण्डकी प्रदेश सम्भावनै सम्भावनाले भरिएको प्रदेश भएको उल्लेख गर्नुभयो । उद्योगधन्दाको विकास गरेर प्रशस्त रोजगारी सिर्जना गर्नुपर्ने आवश्यकता औंल्याउँदै सांसद् चर्तीमगरले सहकारीहरूले उत्पादनमूलक र रोजगारमूलक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल मगर संघका पूर्वअध्यक्ष एवं केन्द्रीय संरक्षक झकबहादुर थापामगरले मगर समुदायले आर्थिक क्रियाकलापमा जोड दिनुपर्ने बताउँदै सामूहिक लगानीमार्फत् उत्पादनमूलक क्षेत्रमा जोड दिनुपर्ने आवश्यकता औंल्याउनुभयो । नेपाल मगर संघका पूर्वमहासचिव एवं केन्द्रीय सल्लाहकार लोकबहादुर थापामगरले कविता वाचन गर्दै मगर जातिलाई आर्थिक रुपले सम्पन्न र समृद्ध बनाउनु अहिलेको आवश्यकता भएको बताउनुभयो ।
नेपाल मगर संघका पूर्वमहासचिव एवं नेपाल बार एशोसिएसनका उपाध्यक्ष अधिवक्ता सुरेन्द्र थापामगरले सहकारीहरू एक आपसमा समन्वय गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै मर्जरमा जान सुझाव समेत दिनुभयो । एकता बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पोखरा–१४, चाउथे, कास्कीका अध्यक्ष बालकृष्ण काउछामगरले सहकारीहरूले अब हजारौंको संख्यामा शेयर सदस्य बनाउनुपर्ने बताउँदै मर्जरमा जान प्रस्ताव गर्नुभयो ।
कार्यक्रममा जनचेतना बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पोखरा–१०, रामघाट, कास्कीकी अध्यक्ष सरस्वती रानामगर, नेपाल मगर संघ, कास्कीकी अध्यक्ष संगीता पुनमगर, लेखा परीक्षक विष्णु बराललगायतले सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको थियो । सो अवसरमा असल ऋणीका रुपमा हरिकला छन्त्याल र चेतबहादुर पुनलाई सम्मान समेत गरिएको थियो ।
लखन सहकारीका अध्यक्ष पूर्णबहादुर रानामगरको अध्यक्षतामा कार्यक्रममा शिक्षा उपसमिति संयोजक यामबहादुर थापामगरले सहकारीका सात सिद्धान्त वाचन गर्नुभएको थियो भने उपाध्यक्ष बुद्धिमाया थापामगर र सचिव डिलबहादुर श्रीसमगरले पनि बोल्नुभएको थियो । साधारणसभाले अध्यक्ष पूर्णबहादुर रानामगरको प्रगति प्रतिवेदन, कोषाध्यक्ष झपटबहादुर रानामगरको आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक कुमार थापामगरको लेखा प्रतिवेदन सुझावसहित पारित गरेको छ ।

Advertisment