स्व. तीर्थसागर सुवेदी स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार श्रीस सम्मानित

पोखरा, ५ भदौ
लोक तथा दोहोरी गायक स्व. तीर्थसागर सुवेदीको नाममा स्थापित “स्व. तीर्थसागर सुवेदी स्मृति पत्रकारिता पुरस्कार–२०७६”बाट कास्कीका पत्रकार रूद्रबहादुर श्रीस सम्मानित हुनुभएको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, गण्डकी प्रदेशको प्रथम प्रदेश अधिवेशनका अवसरमा शुक्रबार पत्रकार श्रीसलाई प्रतिष्ठानका केन्द्रीय अध्यक्ष बद्री पंगेनीले दोसल्ला, सम्मानपत्र र नगद ५ हजार ५ सय ५५ रुपैयाँसहित सो पुरस्कारबाट सम्मान गर्नुभयो । वरिष्ठ लोक तथा दोहोरी गायक प्राज्ञ प्रजापति पराजुलीको संयोजकत्वमा वरिष्ठ लोक तथा दोहोरी गायक पुरुषोत्तम र वरिष्ठ लोक तथा दोहोरी गायिका तथा सञ्चारकर्मी एवं नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेशकी उपाध्यक्ष शान्ति गुरुङ सदस्य रहेको पुरस्कार छनौट समितिले पत्रकार श्रीसलाई पुरस्कार दिनका लागि सिफारिस गरेको हो ।
स्व. लोक तथा दोहोरी गायक तीर्थसागर सुवेदीको स्मृतिमा पोखरा महानगरपालिका वडा नं. २० का वडाध्यक्ष सिम गुरुङले पुरस्कारका लागि अक्षयकोषको स्थापना गर्नुभएको हो । सम्मानित पत्रकार श्रीस फेवा टेलिभिजनको वरिष्ठ समाचार सम्पादक र कास्की आवाज राष्ट्रिय दैनिकको कार्यकारी सम्पादकका रुपमा कार्यरत रहनुभएको छ । विगत १३ वर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकार श्रीस नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेशका सचिव, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकी प्रदेशको महासचिव र नेपाल मगर पत्रकार संघको केन्द्रीय उपमहासचिव समेत हुनुहुन्छ ।
सो अवसरमा ३÷३ हजार राशिको नवप्रतिभा पुरस्कारबाट नवोदित गायक जीवन सिग्देल र गायिका अस्मिता डीसी सम्मानित हुनुभयो । त्यसैगरी, ५ हजार ५ सय ५५ नगद राशिको “स्व. नरबहादुर परियार स्मृति कलाकारिता पुरस्कार–२०७६” बाट चर्चित लोक तथा दोहोरी गायक राजु परियार सम्मानित हुनुभयो । त्यस्तै, प्रतिष्ठानका पूर्व केन्द्रीय अध्यक्षलाई सम्मान गर्ने परम्परा भए अनुसार यसपाली निवर्तमान केन्द्रीय अध्यक्ष चन्द्र शर्मा सम्मानित हुनुभयो । प्रतिष्ठान, गण्डकी प्रदेशले केन्द्रीय कलाकार कल्याणकारी कोषका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगद केन्द्रीय समितिलाई हस्तान्तरण समेत गरेको छ ।
प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै प्रतिष्ठानका केन्द्रीय अध्यक्ष बद्री पंगेनीले स–साना कुरामा अल्झिएर बस्ने बेला नभएको बताउनुभयो । संस्थाको हितलाई ध्यानमा राखेर नेतृत्वमा आउन आग्रह गर्दै उहाँले चुनावका आधारमा नभइ सहमतिका आधारमा नेतृत्व चयन गर्न सुझाव दिनुभयो । आफूले आफ्नो कार्यकालमा सक्दो राम्रो गर्ने प्रयास गरिरहेको बताउँदै अध्यक्ष पंगेनीले राम्रोलाई राम्रो र नराम्रो कुरा औंल्याइदिन आग्रह समेत गर्नुभयो ।
प्रतिष्ठानका पूर्वअध्यक्ष एवं संरक्षक प्राज्ञ प्रजापति पराजुलीले आफ्नो क्षमता र योग्यता ख्याल गरेर नेतृत्व दाबी गर्न आग्रह गर्दै मिलेर अघि बढ्न सुझाव दिनुभयो । अर्का पूर्वअध्यक्ष एवं संरक्षक पुरुषोत्तम न्यौपानेले दोहोरी गीत रहुञ्जेल र चलुञ्जेल मात्रै दोहोरी कलाकार रहने भन्दै नेतृत्व हस्तान्तरण हुँदै जाने कुरा भएको बताउनुभयो ।
त्यस्तै, अर्का निवर्तमान अध्यक्ष चन्द्र शर्माले विगतका कमीकमजोरीलाई सच्याएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै एक अर्कामा दोष थोपरेर प्रतिष्ठानको प्रगति नहुने उल्लेख गर्नुभयो । सम्मानितका तर्फबाट बोल्दै चर्चित लोक तथा दोहोरी गायक राजु परियारले आफूले सम्मानले थप जिम्मेवारीबोध गराएको भन्दै प्रतिष्ठानको प्रतिष्ठालाई गिर्न दिन नहुनेमा सचेत गराउनुभयो ।
सो अवसरमा प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष रमेश बिजी, प्रथम उपाध्यक्ष पशुपति शर्मा, उपमहासचिव चोलेन्द्र पौडेल, पूर्वमहासचिव विष्णु खत्री, प्रतिष्ठानका केन्द्रीय सदस्य एवं प्रस्तोता समाज, नेपालका अध्यक्ष शिव हमाल, पूर्व सल्लाहकार याम गुरुङ, पत्रकार श्याम कुँवर, कास्की जिल्ला अध्यक्ष टेक क्षत्री, हिमाली सांस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङलगायतले राज्यले अझै पनि कलाकारको उचित सम्मान गर्न नसकेको भन्दै कलाकारलाई सम्मानित जीवन बाँच्ने वातावरण बनाउन लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।
प्रतिष्ठान, गण्डकी प्रदेशका अध्यक्ष शंकर विरही गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सहअध्यक्ष राजेन्द्र सापकोटा र सचिव पूर्ण परियारले पनि बोल्नुभएको थियो ।

Advertisment