नेकपानिकट दुई मगर संगठन एक भए, संयोजकमा भोजविक्रम बुढामगर

काठमाडौं, ४ असोज
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)निकट दुई मगर संगठन मगर राष्ट्रिय मुक्ति मोर्चा, नेपाल र नेपाल लोकतान्त्रिक मगर संघ एक भएका छन् । एकतापछि संगठनको नयाँ नाम “लोकतान्त्रिक राष्ट्रिय मगर मोर्चा, नेपाल” राखिएको छ ।
नवगठित मगर मोर्चाको संयोजकमा साबिक नेपाल लोकतान्त्रिक मगर संघका अध्यक्ष भोजविक्रम बुढामगर र सह–संयोजकमा साबिक मगर राष्ट्रिय मुक्ति मोर्चा, नेपालका उपाध्यक्ष गणेशबहादुर सलामीमगर चयन हुनुभएको छ । भोजविक्रम बुढामगर, गणेश सलामीमगर, लीला मगर, गगन ल्हायोमगर, माधवकुमार दर्लामीमगर र विमला पुलामीमगर रहेको ६ सदस्यीय कार्यदलले एक वर्षको गृहकार्यपश्चात् मोर्चाको एकता घोषणा गरिएको हो । मोर्चाका संयोजक र सहसंयोजकसहित २५१ सदस्यीय केन्द्रीय समितिलाई नेकपानिकट आदिवासी जनजाति महासंघ नेपालका संयोजक सुरेश आलेमगरले सपथ ग्रहण गराउनुभएको थियो ।


बुधबार आयोजित मोर्चाको संगठनात्मक एकता घोषणा तथा सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा महासचिव विष्णु पौडेलले देशमा राजतन्त्रको अन्त्य गरेर गणतन्त्रको स्थापना गर्न मगर समुदायको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो । सबै मगरहरूलाई गोलबन्द गर्दै समाजवादी क्रान्तिको पक्षमा आन्दोलित गर्न मोर्चा सफल हुने अपेक्षा गर्दै महासचिव पौडेलले वर्तमान समयमा मगर मोर्चाको भूमिका बदलिएको बताउनुभयो ।
जनयुद्ध र जनआन्दोलनका उपलब्धीलाई संविधानमा लिपिबद्ध गरिएको उल्लेख गर्दै उहाँले पार्टीले समाजवादको यात्रामा अघि बढ्ने संकल्प लिएको बताउनुभयो । सामाजिक न्यायसहितको आर्थिक समृद्धि नेकपाको मुख्य नीति रहेको भन्दै महासचिव पौडेलले पार्टी प्रक्रियालाई सम्पन्न गर्ने विन्दुमा आइपुगेको जनाउनुभयो ।
नेकपाका स्थायी समिति सदस्य एवं जलस्रोत, ऊर्जा तथा सिंचाइँ मन्त्री वर्षमान पुन “अनन्त”ले कुनै पनि संगठन क्रान्ति र सामाजिक रुपान्तरणको साधन भएको बताउँदै पार्टीले आवश्यकता ठानेर नै मगर मोर्चाको गठन गरेको उल्लेख गर्नुभयो । अहिलेको नोकरशाही दलाल पुँजीवादको अन्त्य गरेर समाजवादको दिशामा अघि बढ्नुपर्ने बताउँदै उहाँले सबै खाले विभेदको अन्त्य गर्दै समाजवादी क्रान्तिको तयारीमा लाग्नुपर्ने बताउनुभयो ।
प्रतिक्रियावादीसित लड्न सर्वहारा वर्ग एक्लैले नसक्ने भन्दै मन्त्री अनन्तले त्यसका लागि उत्पीडित समुदायको साथ जरुरी रहेको धारणा राख्नुभयो । रचनात्मक र सिर्जनात्मक रुपमा जनताको आवाज बोल्न मगर मोर्चालाई आग्रह गर्दै उहाँले सरकारले नै उत्पीडितहरूको आवाज बोल्ने उद्घोष समेत गर्नुभयो ।
नेकपाका केन्द्रीय सदस्य एवं आदिवासी जनजाति महासंघ नेपालका इञ्चार्ज गोकुल घर्तीमगरले वर्ग, जाति, क्षेत्र, लिंग र भाषाका आधारमा अझै पनि उत्पीडन र विभेद कायमै रहेको उल्लेख गर्नुभयो । नेकपाका केन्द्रीय सदस्य एवं आदिवासी जनजाति महासंघ नेपालका संयोजक सुरेश आलेमगरले हरेक राजनैतिक परिवर्तनमा मगर समुदायको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै पहिचानको आन्दोलन अझै पनि पूरा नभएको तर्क गर्नुभयो ।
नेकपा केन्द्रीय सदस्य एवं आदिवासी जनजाति महासंघ नेपालका सह–इञ्चार्ज कमानसिंह लामाले आदिवासी जनजाति समुदायले संविधान उल्लेख गरिएका अधिकार समेत नपाएको बताउनुभयो । नेकपा केन्द्रीय सदस्य एवं नेपाल मगर संघका अध्यक्ष नवीन रोकामगरले अति जातिवादी र अति वर्गवादी चिन्तनबाट नेकपाका नेताहरू मुक्त हुनुपर्ने भन्दै वर्गीय मुक्ति आन्दोलन र जातीय मुक्ति आन्दोलनलाई संयोजन गरेर अघि बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
मगर राष्ट्रिय मुक्ति मोर्चा, नेपालका संस्थापक एवं नेकपाका नेता लोकबहादुर थापामगरले मगर जातिको राजनैतिक चेतना वृद्धि गर्न र जातीय मुक्तिको सपना बोकेर मोर्चाको स्थापना गरिएको बताउँदै मगर जातिको इतिहासको राम्रो अध्ययनको आवश्यकता रहेको उल्लेख गर्नुभयो । सो अवसरमा मोर्चाका नेताहरू गणेश सलामीमगर र लीला मगरले पनि बोल्नुभएको थियो भने मोर्चाका संयोजक भोजविक्रम बुढामगरले मोर्चाको राजनैतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

Advertisment