छन्त्याल बस्तीहरू रित्तिँदै जान थाले ः खिम छन्त्याल

पोखरा, ३१ भदौ
नेपाल छन्त्याल संघ, गण्डकी प्रदेशका अध्यक्ष खिम झिङ्राजा छन्त्यालले नेपालको अल्पसंख्यक आदिवासी जनजाति समुदाय छन्त्यालहरू आफ्नो थातथलोबाट विस्थापित हुँदै जानु चिन्ताको विषय भएको बताउनुभएको छ ।
नेपाल छन्त्याल संघ, कास्कीको नवौं साधारणसभा तथा पाँचौं जिल्ला अधिवेशनको मंगलबार पोखरामा उद्घाटन गर्दै प्रदेश अध्यक्ष छन्त्यालले बसाइँसराइँका कारण छन्त्याल बस्तीहरू रित्तिँदै गएको उल्लेख गर्नुभयो । आफ्नो थातथलो छोडेर सहरमा बसोबास गरेपनि छन्त्यालहरू एकताबद्ध हुँदै गएको भन्दै उहाँले सहरमा बसोबास गर्ने छन्त्यालहरू एकै ठाउँमा भेला भएर भलाकुसारी गर्ने अवसर मिल्नु भने खुशीको कुरा भएको बताउनुभयो ।
लोप हुँदै गएको छन्त्याल भाषा, संस्कृति र भेषभूषाको संरक्षण गर्नु छन्त्याल समुदायको प्रमुख चुनौती रहेको भन्दै अध्यक्ष छन्त्यालले सम्पूर्ण छन्त्यालहरू एकजुट भएर आफ्नो पहिचान जोगाउन लाग्नुपर्ने बताउनुभयो । परम्परागत रुपमा खानी खन्ने पेशामा संलग्न छन्त्यालहरू अहिले विभिन्न क्षेत्रमा अघि बढेको भन्दै सबै छन्त्यालहरूलाई गोलबन्द गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद्, कास्कीका उपाध्यक्ष सु. हरिमान थिङ तामाङले संविधानमा उल्लेख भएका आदिवासी जनजातिका अधिकार सरकारले बिस्तारै कटौती गर्दै लगेकोप्रति आपत्ति जनाउँदै अझै पनि आन्दोलन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकी प्रदेशका महासचिव रूद्रबहादुर श्रीसले छन्त्याल जातिको परम्परागत पेशा खानी खन्ने रहेको उल्लेख गर्दै बन्द भएका खानी उत्खनन गर्न सके आर्थिक समृद्धिको आधार बन्न सक्ने धारणा राख्नुभयो ।
नेपाल तामाङ घेदुङ, कास्कीका अध्यक्ष कृष्णबहादुर तितुङ तामाङले संख्यात्मक रुपले थोरै भएपनि छन्त्यालहरू आफ्नो पहिचान जोगाउन प्रयत्नशील रहेको भन्दै प्रशंसा गर्नुभयो । नेपाल छन्त्याल संघका केन्द्रीय सदस्य प्रथम छन्त्यालले सम्पूर्ण छन्त्यालहरूलाई संघको छातामुनि गोलबन्द गर्दै भाषा, संस्कृति संरक्षणमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
नेपाल छन्त्याल संघ, गण्डकी प्रदेशका सचिव थमप्रकाश तथब्जा छन्त्यालले भौतिक विकासले मात्रै सन्तुष्ट हुन नसकिने उल्लेख गर्दै सामाजिक र राजनैतिक चेतनाको विकास भए मात्र समुदाय माथि उठ्न सक्ने बताउनुभयो । कार्यक्रममा बागलुङ–पोखरा मगर समाजका अध्यक्ष रामबहादुर पुन, नेपाल छन्त्याल संघ, गण्डकी प्रदेशका कोषाध्यक्ष डम्बरबहादुर छन्त्याल र नेपाल छन्त्याल महिला संघ, कास्कीकी अध्यक्ष माया तथब्जा छन्त्यालले आदिवासी जनजातिले आफ्नो लोपोन्मुख भाषा, धर्म र संस्कृति संरक्षणमा विशेष चासो दिनुपर्नेमा जोड दिनुभयो ।
नेपाल छन्त्याल संघ, कास्कीका अध्यक्ष भक्तबहादुर घरब्जा छन्त्यालको अध्यक्षतामा भएको कार्यक्रममा संघका पूर्व केन्द्रीय सल्लाहकार क्या. नन्दबहादुर घरब्जा छन्त्याल र सचिव बमबहादुर घरब्जा छन्त्यालले पनि बोल्नुभएको थियो । नयाँ नेतृत्व चयन गर्दै अधिवेशन बुधबार मात्र सकिने सचिव बमबहादुर छन्त्यालले जानकारी दिनुभयो ।

Advertisment