सरकार प्रतिगमनतिर अघि बढेको छ ः प्रा.डा. ओम गुरुङ

पोखरा, ३० भदौ
नेकपा (क्रान्तिकारी माओवादी)सम्बद्ध अखिल नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष प्रा.डा. ओम गुरुङले वर्तमान नेकपा नेतृत्वको सरकार प्रतिगमनतर्फ अघि बढेको आरोप लगाउनुभएको छ ।
अखिल नेपाल आदिवासी जनजाति महासंघ, प्रदेश नं. ४ ले पोखरामा आयोजना गरेको विरोधसभामा बोल्दै प्रा.डा. गुरुङले नेकपा सरकारमा जातीय अहंकारवाद हावी भएको बताउनुभयो । अझै पनि राज्यसत्ता परिवर्तन नभएको जिकिर गर्दै उहाँले वर्तमान संविधान खारेज हुनुपर्ने धारणा राख्नुभयो । सरकारले जनतालाई पीडा मात्र दिएको भन्दै नेपाली जनता अझै पनि सचेत हुनुपर्ने उल्लेख गर्नुभयो ।
अखिल नेपाल आदिवासी जनजाति महासंघका महासचिव नगेन्द्र राईले जातीय पहिचानका आधारमा स्वायत्त प्रदेशहरू निर्माण गरिनुपर्ने धारणा व्यक्त गर्नुभयो । अखिल नेपाल मगर राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष निलबहादुर पुनले सरकारले आदिवासी जनजातिलगायतका उत्पीडित समुदायविरोधी हर्कत गरेको भन्दै मगरात स्वायत्त प्रदेशका लागि आन्दोलन गर्नुपर्ने जिकिर गर्नुभयो । अखिल नेपाल तमु राष्ट्रिय मुक्ति मोर्चाका उपाध्यक्ष छविलाल घलेले तमु र मगरलगायतका आदिवासी जनजातिको ऐतिहासिक भूमिलाई गण्डकी प्रदेश भनेर नामाकरण गरिएकोमा आपत्ति जनाउँदै तमुवान स्वायत्त प्रदेशका लागि कडा आन्दोलनको आवश्यकता औंल्याउनुभयो ।
ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संघ (बीगेसो)का सभापति पदमसुन्दर लिम्बूले भूपू गोर्खाहरूलाई बेलायतले समान अधिकार दिन नचाहेको भन्दै नेपाल सरकारले भूपू गोर्खाको अधिकारका लागि कुनै पहल गर्न नचाहेको आरोप लगाउनुभयो । सो अवसरमा अखिल नेपाल छन्त्याल राष्ट्रिय मुक्ति मोर्चाका नेता बमबहादुर छन्त्यालले पनि बोल्नुभएको थियो ।

Advertisment